नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ बैशाख ।
एसिसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल सोमबार वर्षाका कारण स्थगित भएको खेल आज (मंगलबार) हुँदैछ ।
सोमबार बाँकी रहेको खेल आज मंगलबार रिजर्भ डेमा हुन लागेको हो । मंगलबार सोमबारकै स्थितिबाट युएईले ब्याटिङ सुरु गर्नेछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइलन खेलमा टस हारेर पहिले ब्याटिंग गरेको युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाउँदा दोस्रो पटक वर्षाले खेल रोके पनि पुनः सुरु हुन नसक्दा आजको खेल स्थगित भएको हो ।
वर्षाका कारण प्रभावित भएको खेल आजका लागि सारिएको छ । यसअघि सोमबार नै १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट गुमाएको अवस्थामा वर्षा सुरु भएसँगै नेपाल र युएईबीचको खेल रोकिएको थियो । तर केही समयमा नै वर्षा रोकिएपछि पुन खेल सुरु भएको थियो ।
युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लाक्राले १३ रन जोडे । यस्तै मोहम्मद वासिम ११ रन बनाई आउट भए भने बसिर हमिदले १० बनाए । नेपालका लागि ललित राजबंशीले ३ विकेट लिएका भने भने करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा गुल्शन झा र सोमपाल कामीको भागमा समान १-१ विकेट रहयो ।
यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगेको थियो । सेमिफाइनलमा कुवेतसँगको खेल वर्षाको कारण नतिजाविहीन भएपछि नेपाल समूह विजेताका रुपमा फाइनलमा पुगेको हो । साथै युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यका साथ मैदान उत्रदैछ भने युएई पनि नेपाललाई हराउँदै चौथोपटक एसिया कपमा स्थान सुरक्षित बनाउने योजनामा रहेको छ । नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण नतिजाविहीन बनेपछि नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको थियो ।
यता दोसो सेमिफाइनल युएईले ओमानलाई डीएल मेथडमा दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । तर तर मंगलबार पनि वर्षाले खेल हुन नसके खेल सुपर ओभरको प्रयास गरिने छ । यदि सुपर ओभरको समेत खेल हुन नसके नेपाल एसिया कपमा पुग्नेछ ।
नियम अनुसार एकदिवसीय वरियतामा माथि रहने टोलीले एसिया कपमा स्थान बनाउने छ । एकदिवसीय वरियतामा नेपाल १४ औँ स्थानमा रहँदा युएई १९ औँ स्थानमा रहेको छ । जारी प्रतियोगितामा नेपाल अपराजित रहेको छ । एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै युएई र नेपालले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् ।