नवकान्तिपुर संवाददाता
काठमाडौं, २० बैशाख ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा दिल्लीले गुजरात टाइटन्सलाई ५ रनले पराजित गरेको हो ।
जारी प्रतियोगितामा दिलीको यो तेस्रो जित हो भने गुजरातको तेस्रो हार । भारतको नरेन्द्र मोदी स्टेडियम अमहदेबादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो । दिल्लीका लागि अमन हाकिम खानले ५१ रनको अर्धशतकीय पारी खेले भने अक्षर पटेलले २७ रन जोडे । त्यस्तै रिपल पटेल २३ रन बनाए भने प्रियम गर्गले १० रन बनाए ।
गुजरातका लागि मोहम्मस शामीले ४ विकेट लिए भने मोहित शर्माले २ विकेट लिँदा राशिद खानको भागमा १ विकेट रह्यो । १३१ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रनमात्र बनाउन सक्यो ।
गुजरातका लागि हार्दिक पाण्ड्याले अविजित रहँदै ५९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै अभिनभ मोनोहरले २६ रन बनाई आउट भए भने राहुल टेवाटियाले २० रन जोडे ।
तेस्रो जित हात पारेको दिल्ली ९ खेलमा ३ जित र ६ हार सहित ६ अंक जोड्दै तालिकाको पुछारमा छ भने समान खेलमा ६ जित र ३ हार सहित १२ अंक जोडेको गुजरात शीर्ष स्थानमा रहेको छ ।