आईपीएलमा चेन्नाईद्वारा दिल्ली पराजित   

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नाईले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको हो ।

जारी प्रतियोगितामा चेन्नाईको यो सातौं जित हो भने दिल्लीको सातौं हार । चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । चेन्नाईका लागि शिभम दुवेले २५ रन बनाए भने ऋतुराज गायकवाडले २४ रन जोडे ।



त्यस्तै अम्बादी राइडुले २३ रन बनाई आउट भए भने अजिक्या रहाणे र रविन्द्र जडेजाले समान २१-२१ जोड्दा कप्तान महेद्रसिंह धोनीले २० रन बनाए । दिल्लीका लागि मिचेल मार्शले ३ विकेट लिए भने अक्षर पटेलको भागमा  २ विकेट रह्यो ।

१६८ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन मात्र बनायो । दिल्लीका लागि रिलि रोउसोले ३५ रन बनाए भने मनिश पान्डेले २७ रन जोडे । यस्तै अक्षर पटेलले २१ रन बनाई आउट भए भने फिलिप साल्टले १७ रन जोडे । चेन्नाईका लागि मथिशा पथिरानाले ३ विकेट लिए भने दीपक चहरको भागमा २ विकेट रह्यो ।

सातौं जित हात पारेको चेन्नाई १२ खेलमा ७ जित र ४ हारसहित १५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा कायमै छ भने ११ खेलमा ४ जित र ७ हारका साथ ८ अंक जोडेको दिल्ली तालिकाको पुछारमा कायमै छ ।

सम्बन्धित समाचार