नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ जेठ ।
आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम वार्मअप खेलमा नेपाल विजयी भएको छ । बिहीबार भएको अन्तिम वार्मअप खेलमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको हो ।
जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २६७ रन बनाएको थियो । ओमानका लागि कप्तान जिशान मकसुदले १०९ रनको शतकीय पारी खेले भने सोयब खानले ३८ रन बनाए । नेपाली बलरहरुले ओमानका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए ।
६ दशमलब २ ओभरमा ७ रन जोड्दा ४ विकेट गुमाएको ओमानको पारी पाँचौ विकेटका लागि कप्तान मकसुद र सोयब ४ रनको साझेदारी गर्दै उकासेका थिए । नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट लिँदा करण केसी र प्रतिश जिसीको भागमा समान १-१ विकेट रह्यो ।
२६८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४४ दशमलव ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका कुशल भुर्तेलले ९४ बलमा १३ चौका र २ छक्काको मद्दतमा १०१ रनको शतकीय पारी खेले भने भीम सार्कीले ५६ को अर्धशतकीय इनिङ्ग्स खेले । त्यस्तै कप्तान रोहितकुमार पौडेल ३१ रन बनाई आउट भए भने दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २३ र कुशल मल्लले १७ रन जोड्दा सन्दीप लामिछाने ६ रनमा अविजित रहे ।
ओमानका लागि अकिब ईलियासले ४ विकेट लिए भने फैयाज बटको भागमा २ विकेट रह्यो । आईसीसी एकदिवसीय विश्वकपको छनोट खेल भने जिम्बाबेमै जुन १८ देखि जुलाई ९ तारिखसम्म आयोजना हुँदैछ । छनोट प्रतियोगितामा नेपाली टोली समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा आयोजक जिम्बाबे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् ।
समूह ‘बी’ मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र यूएई रहेका छन् । विश्वकप छनोटको पहिलो खेलमा नेपालले आईतबार घरेलु टोली जिम्बावेसँग दोस्रो खेल जुन २० तारिखमा अमेरिकासँग, तेस्रो खेल जुन २२ तारिखमा वेस्ट इन्डिजसँग र आफ्नो चौथो तथा अन्तिम खेल जुन २४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका छन् ।