नेपाल फिलिपिन्ससँग पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । बिहीबार राति भएको खेलमा नेपाल घरेलु टोली फिलिपिन्ससँग पराजित भएको हो ।

फिलिपिन्सको रिजल मेमोरियल स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा फिलिपिन्सलाई जित दिलाउन  जार्भे गायोसोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ४९ औं मिनेटमा जार्भे गायोसोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।



त्यसपछि थप समयमा दुवै टोलीबाट गोल नहुँदा उक्त एक गोल नै फिलिपिन्सलाई जित दिलाउन पर्याप्त रह्यो । यद्यपि नेपालले केही गोल गर्ने सुन्दर अवसर भने खेर फालेका थिए ।

भारतमा आयोजना हुने १४औँ संस्करणको साफ च्याम्पियनसीपको तयारीस्वरुप नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेको हो । साफ च्याम्पियनसीप आगामी असार ६ देखि १८ गतेसम्म हुनेछ । च्याम्पियनसीपमा नेपालसहित आयोजक भारत, बङ्गलादेश, कुवेत, लेबनान, भूटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ । त्यस्तै समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भूटान र बङ्गलादेश रहेको छ । साफको उद्घाटन खेलमा असर ६ गते  नेपाल र कुवेत भिड्दै छन्  । उक्त खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेल नेपालले असर ९ गते आयोजक भारतसँग र तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।

सम्बन्धित समाचार