नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ साउन ।
श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ एसिया कपको पाकिस्तान ‘ए’ ले उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा भारत ‘ए’ लाई १२८ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान ‘ए’ ले उपाधि जितेको हो ।
श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आर प्रेमदाशा क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३५२ रन बनाएको थियो । पाकिस्तानका लागि तैयव ताहिरले१०८ रनको शतकीय पारी खेले भने सहबाज फरहाम र सैब अयबले अर्धशतकीय पारी खेल्दै क्रमश: ६५ र ५९ रन बनाए ।
त्यस्तै मुबासिर खानले ३५ रन जोडे भने भने ओमिर युसुफले ३५ रन बनाए । भारतका लागि रियान पराग र राजवद्र्धन हङ्गेरकरले समान २-२ विकेट लिए भने हर्षित राना, मानव सुतार र निसान्त सिधुको भागमा समान १-१ विकेट रह्यो।
३५३ रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले ४० ओभरमा अलआउट हुँदै २२४ रनमा समेटियो । भारतका लागि ओपनर अभिषेक शर्माले ६१ रनको अर्धशतकीय पारी खेले भने कप्तान यश धुलले ३९, साई सुदर्शनले २९ र रियान परागले १४ रन बनाए ।
पाकिस्तान ‘ए’ का लागि सोफियान मुकिमले ३ विकेट लिए भने मोहम्मद वासिम जुनियर, मिहरम मुम्ताज र अर्सद इक्बालको भागमा समान २-२ विकेट रह्यो । पाकिस्तानले लगातार दोस्रो पटक उपाधि जितेको हो ।