पत्रपत्रिका
काठमाडौं, १६ साउन ।
चिकित्सकको लापरबाहीका कारण कान्ति बाल अस्पतालले एक पीडित बालकलाई ३० लाख रूपैयाँ क्षतिपूर्ति भराउनुपर्ने भएको छ । आडकै शय्याका एक बालकलाई दिनुपर्ने औषधि अर्कोलाई लगाइदिएपछि जीवनभर शारीरिक रूपमा क्षति बेहोरेका ती बालकलाई क्षतिपूर्ति भराउन सर्वोच्च अदालतले कान्ति बाल अस्पताललाई आदेश गरेको हो ।
न्यायाधीश हरिप्रसाद फुंयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ माघ २५ गते गरेको फैसलाको पूर्णपाठ हालै आएको हो । कान्ति बाल अस्पतालको चिकित्सकीय असावधानीका कारण ८ महिनाको बालकको स्वास्थ्यमा गम्भीर असर परेको पुष्टि भएको थियो ।
त्यसपछि बच्चाका बुवालाई जिल्ला प्रशासन कार्यालयले १५ लाख रूपैयाँ दिने निर्णय गरेको थियो । त्यसमा चित्त नबुझेपछि बच्चाका बुबाले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए ।
उच्च अदालतले १५ लाख रूपैयाँ दिने निर्णय सदर गरेको थियो । त्यसपछि सर्वोच्चमा मुद्दा दोहोऱ्याई पाऊँ भन्दै निवेदन दर्ता भएको थियो । सर्वोच्चले उच्च अदालतको फैसला उल्टाउँदै ३० लाख रूपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको हो । आजको नागरिक दैनिकमा समाचार छ ।