युवा नेताहरूको भरोसामा नेपाली काङ्ग्रेस, गगनले युवाहरूको नेतृत्व गर्न सक्लान् ?

नेपाली काङ्ग्रेस पार्टीले मात्र नभई सिङ्गै देशले आशा गरेका युवा नेताहरू हुन् गगन थापा र विश्वप्रकाश शर्मा । वर्तमान नेतृत्वलाई चुनौती दिँदै भावी प्रधानमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गरेपछि युवा सर्कलमा गगन थापाको क्रेज ह्वात्तै बढेको पाइन्छ । विद्यार्थी जीवनबाट राजनीतिको यात्रा शुरु गरेका थापा नेविसंघको महामन्त्री हुँदै पटक पटक सांसद भए र एक पटक क्याविनेट मन्त्री पनि भए । स्वास्थ्य मन्त्रीका रूपमा उनले गरेका कार्यहरूको आज पनि प्रशंसा गर्ने गरिन्छ ।

गगन आफ्नो वर्गमा त चर्चित छँदैछन्, राजनीतिलाई आफ्नो कर्म क्षेत्र बनाएका पाको उमेर समूहका लागि उनी उदाहरणीय व्यक्तित्व बनेका छन् । आफ्नो निडर स्वभाव र प्रखर व्यक्तित्वका कारण उनी धेरै समकालीन साथीहरूलाई पछि पार्न सफल छन् । धेरै मानिसहरू उनीभित्र एउटा राम्रो सम्भावना भएको प्रतिभा देख्छन् र उनीप्रति त्यही अनुसारकोे सम्मान पनि प्रकट गर्दछन् । त्यसैले उनी पार्टीभित्र मात्र होइन, बाहिर पनि चर्चित छन् र उनलाई रूचाउनेहरूको लाइन लामै छ । यो राजनीतिक विरासत उनले आफ्नै बाहुबलले निर्माण गरेका हुन् ।



थापा तार्किक र कुशल वक्ता पनि हुन् । उनीमा भाषण गर्ने आकर्षक शैली र कुनै विषयवस्तुलाई स्रोता–दर्शकमाझ सुन्दर ढङ्गले राख्न सक्ने कला पनि छ । उनको यही कलाले धेरैलाई मोहित बनाएको पनि छ । बोल्नुअगाडि बोल्ने विषयका बारेमा मिहिन अध्ययन गर्ने र उक्त विषयलाई आकर्षक ढङ्गले पस्कने कलाले उनले सम्बोधन गर्ने कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको भन्दा पनि थापाको भाषण सुन्न स्रोताहरू व्यग्र बनेर उनको पालो कुरेर बसिरहेका हुन्छन् । यो नै उनको सफलताको कडी हो र यो नै उनको क्रेज बढ्ने आधार पनि हो ।

थापा चारपटक सांसद बने, एकपटक मन्त्री बने र अहिले पार्टीको महामन्त्री र काठमाडौं क्षेत्र नं. ४ का सांसद पनि हुन् । थापा आफ्नो जुधारू स्वभावका कारण उनी प्रायः चर्चाको शिखरमा रहने गर्छन् । प्रायः बोलेर चर्चाको शिखरमा रहने थापा कहिलेकाहीँ नबोलेर पनि चर्चित भइदिन्छन् । सामाजिक सञ्जालमा पनि निक्कै खोजिने र पढिने व्यक्तिमा पर्छन् उनी । उनका स्टाटसहरू चाँडै भाइरल बन्छन् ।

थापा टिममा रहेका काम गर्न रुचि देखाउँछन् । उनी अध्ययनशीन पनि छन् । बोल्नु अगाडि बोल्ने विषयको राम्रो तयारी गर्छन् । उनी मिडिया मैत्री पनि छन् । आफ्ना सहमति वा असहमतिका कुरा स्पष्ठ राख्न सक्छन् । उनको यही बानीले गर्दा उनीभित्र एउटा राम्रो नेतामा हुनुपर्ने प्रतिभा देख्नेहरूको भीड पनि बाक्लै छ । उनी स्वयम् पनि पार्टीमा संसदीय दलको नेता बन्दै सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुग्न लागिपरेका छन् । उनको यस चाहनामा युवावर्गलगायत देशमा रूपान्तरण चाहने धेरैको साथ र समर्थन पनि मिसिएको छ । थापाले उनीप्रतिको यस क्रेजलाई बचाउन सक्नुपर्छ ।

राजनीतिमा कुनै व्यक्तिप्रति रूचि देखाउनु र समर्थन नै गर्नु फरक कुरा हुँदोरहेछ । त्यसैले संसदीय दलको नेताको चुनाव भइहाले थापाको लोकप्रियता र सामथ्र्यलाई नजिकबाट देखेका आफ्नै पार्टीका साथीहरूले पनि उनलाई मत हाल्न आँट नगर्न सक्छन् । यसअघि भएको संसदीय दलको नेताको चुनाव नजिरको रूपमा स्थापित छ । विवेक कतै बन्धकी राखिएकाहरूमा स्वतन्त्र निर्णय गर्ने सामथ्र्य रहँदैन । उनीहरू कसैका गोटी बनिसकेका हुन्छन्, त्यसैले उनीहरू दासताको दाम्लो चुँडाएर विवेकको प्रयोग गर्ने हिम्मत जुटाउन सक्तैनन् । अनि परिणाम् त्यही हुन्छ, जुन पहिले नै निर्धारित जस्तैे हुन्छ ।

राजनीतिमा ईष्र्याको पनि अहम् भूमिका रहेको हुन्छ । राजनीतिमा उमेरका हिसाबले वा पार्टीमा सदस्यता लिएका हिसाबले थापालाई जुनियर देख्नेहरू वा थापा अगाडि बढे आफू उनको छायामा पर्ने मनोविकार पालेकाहरूले पनि दृष्यमा थापाको समर्थक भएको देखाए पनि अदृश्य रूपमा भने उनको विरूद्धमा लविङ गरिरहेका हुन्छन् । सम्भवतः पार्टीको एउटा गुटको नेतृत्व गरिरहेका नेता शेखर कोइराला पनि यस्तो मनोविकारबाट मुक्त होलान् भन्न सकिन्न । उनी संस्थापन पक्षले देखाएको कुनै ललिपपको मोहमा परेका हुनसक्छन् । तर यस्ता भयले लर्बराउने व्यक्ति कहिलै नेतृत्वमा पुग्न सक्तैन । थापाले पनि वर्तमान नेतृत्वदेखि साथीभाइले दिएको चोटको स्वाद पाइसकेकोले उनी साना मसिना पराकम्पनबाट विचलित नभई अगाडि बड्ने कुरामा उनका शुभचिन्तकहरू आशावादी छन् ।

थापाले आफू ५५ वर्ष उमेर पुगेपछि सक्रिय राजनीति नगर्ने उदघोष पहिला नै गरिसकेका छन् । ४७ वर्षीय थापालाई आफूले गरेको घोषणा आफैंलाई चुनौती बनेको पनि हुनसक्छ । त्यही भएर पनि उनले तोकेको समय–सीमाभित्र रहेर धेरै कुरा गर्नुपर्ने छ । उनको घोषणा आजीवन पदमा टाँसिएर बस्न रुचाउनेहरूका लागि चुनौती भए पनि यस्ता आदर्शका कुराले थेत्तरो बनिसकेकाहरूलाई तात्विक असर पार्ने चाहिँ देखिँदैन । स्वयम् थापाले भने हतार हतारमा नै भए पनि पार्टी राजनीतिमा धेरै लामो यात्रा तय गर्नुपर्ने देखिन्छ । गगनले स्वयम् आफ्नो मर्यादा कायम गर्नका लागि पनि र उनीमाथि विश्वास गर्नेको विश्वास बचाउनका लागि पनि संसदीय दलको नेता हुँदै मुलुकको प्रधानमन्त्री बनेर आम जनतालाई परिवर्तनको प्रत्याभूति दिलाउनु पर्ने छ । यो उनका लागि चुनौती र अवसर दुबै हो ।

भर्खरै सम्पन्न पार्टीको कार्यसमितिको बैठकमा विश्वप्रकाश शर्मा र थापाको भूमिका उल्लेखनीय देखियोे । संस्थापन पक्षको साथ र समर्थन नहुँदा नहुँदै पनि थापाले कार्यसमितिमार्फत् आफ्ना एजेण्डाहरू पारित गराएउन सफल भए । संख्याका हिसाबले उनी अल्पमतमा रहेर पनि विचार र चिन्तनका हिसाबले उनी अब्बल ठहरिए । उनकै जोडबलले अब प्रत्येक दुई महिनामा केन्द्रीय समितिको बैठक बस्न बाध्य हुने भयो । विधानविपरीत आफ्नो अनुकूलमा मात्र केन्द्रीय समितिको बैठक राख्दै आएका पार्टी सभापति देउवाका लागि यो एउटा झड्का हो भने अर्का महामन्त्री विश्वप्रकाश शर्माको साथ र समर्थनमा गगनको सफलता उनका लागि साङ्केतिक रूपमा नै भए पनि विजयको शुरुआत हो ।

पद, प्रतिष्ठा र जनसमर्थन बढ्दै गएपछि व्यक्तिको बोली, व्यवहार र आदर्श पनि बदलिन सक्छ । भोलि गगन थापामा पनि त्यो अहङ्कार नआउला भन्न सकिन्न । गगनमा त्यस्तो अहङ्कार भाव पलायो भने गगनको मात्र होइन, आशाको दृष्टिले हेरिएका रवि, राजेन्द्र, ज्ञानेन्द्र आदिप्रति पनि विश्वास गर्ने आधार बाँकी रहने छैन । आशा गरौं, गगन, विश्वप्रकाश, प्रदीपजस्ता प्रतिभाहरू मिलेर एउटा नयाँ गोरेटो कोर्न सकून र त्यही गोरेटो पछिल्लो पिँडीका लागि एउटा आदर्श बन्न सकोस् । यिनै युवा नेताहरूमाथिको भरोसाले मात्र नेपाली काङ्ग्रेस समर्थक लाखौं मतदाता र शुभचिन्तकहरू चारतारे झण्डामुनि गोलबद्ध छन् । नत्र त नेपाली काङ्ग्रेस इतिहासका पानामा सीमित बनिसकेको हुनसक्थ्यो होला ।

नेपाली काङ्ग्रेसका युवा नेता गुरु घिमिरे भन्छन् ‘पुरातनवादी राजनीतिबाट जनता र कार्यकर्तामा चरम वितृष्ण छाएको छ । त्यसलाई रिप्लेस गर्न कोही न कोही युवा नेता फ्रन्टलाइनमा आउनै पर्ने थियो । त्यसकारण प्यानल र गुट छैन भनेर बस्नु भन्दा पनि परिवर्तन र जागरणको दीप जगाउनु आजको आवश्यकता हो ।’ उनी थप्छन् ‘विगतको संसदीय निर्वाचन र स्थानीय निर्वाचनलाई हेर्दा काङ्ग्रेसले आफ्ना केही पपुलर मत घटाएकोे छ । त्यो मत घट्नुमा रवि र बालेनहरूप्रति जनतामा आशा र भरोसा देखिन थालेकोले पनि हुनसक्छ । यस अवस्थामा गगन जस्ता सचेत युवाहरूमा पार्टीप्रतिको चिन्ता हुनु स्वाभाविक नै देखिन्छ ।’

ठूला राजनीतिक दल मिलिजुली सत्ता साझेदारी गर्ने, गठबन्धन गरेर निर्वाचनमा जाने अनि आलोपालो सत्ताको बागडोर आफ्नै हातले चलाइरहने भन्ने भाष्य निर्माण भएको छ । त्यसैले यिनीहरुलाई भोट किन दिने जबकि यिनीहरुको नयाँ एजेण्डा केही छैन भन्ने अवस्थामा नागरिक समाज एवं मतदाताहरू पुगेका छन् । नयाँले राम्रा कार्यक्रम र एजेण्डा दिएर होइन, पुराना दल र तिनका नेताले जनतामा आशा र उत्साह जगाउन नसकेर जनतामा नैराश्यता बढेको हो । यी समग्र परिस्थितिलाई केलाउँदा नेपाली काङ्ग्रेस पार्टीमा परिवर्तन र रुपान्तरण हुन जरुरी छ । गगनले उठाएका कुराहरू स्वागत योग्य छन्– घिमिरेले भनेका छन् ।

सम्बन्धित समाचार