पत्रपत्रिका
काठमाडौं, १७ साउन ।
एक क्वीन्टल सुन प्रकरणमा साउन १४ गते पक्राउ परे चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङ लामा । उनले काभ्रेबाट नेपाली नागरिकता प्रमाणपत्र लिएको पुष्टि भएको छ । तर, अचम्मलाग्दो के छ भने, उनले नागरिकता लिँदा पेश गरेका कुनै पनि कागजात जिल्ला प्रशासन कार्यालय काभ्रेमा छैनन्। त्यति मात्र होइन, उनलाई नागरिकता दिने अधिकृतको हस्ताक्षरसमेत सरकारी रेकर्डमा छैन । त्यसैकारण दावाले ‘ठूलै सेटिङ’ गरेर नागरिकता लिएको सरकारी अधिकारीहरू बताउँछन् ।
दावाले २०७४ साल पुस २० गते जिप्रका काभ्रेबाट नेपाली नागरिकता लिए। उनले ‘निमा तामाङ’ को नामबाट नागरिकता लिएका थिए, त्यो पनि वंशजका आधारमा । जिप्रका काभ्रेकाअनुसार उनको नागरिकता प्रमाणपत्र नम्वर ३०–०१–७४–११८६८ हो । नमोबुद्ध नगरपालिका वडा नम्बर ११ उनको स्थायी ठेगाना राखिएको छ । बुवाको नाम पेमा तामाङ राखेर सनाखत गरिएको जिप्रकाको डाटामा देखिन्छ । तर, त्यसबेला पेश गरिएका अन्य कुनै पनि कागजात भने छैनन् ।
उनले नागरिकता लिएका दिनको अनुसुचि भरेको फारम जिल्ला प्रशासन कार्यालयमा नभएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए । यस्तै, दावाका बुवा भनिएका पेमा लामा को हुन् भन्ने बारे पनि जिप्रकामा कुनै अभिलेख छैन ।
दावाले नागरिकता लिएको दिन (पुस २० गते) ४१ जनाले नागरिकता लिएको जिप्रका काभ्रेको रेकर्ड (ढड्डा) मा छ। त्यस दिन ११८३० देखि ११८७१ नम्बर सम्ममा नागरिकता बाँडिएका थिए । त्यस दिन दावा अर्थात निमा लामाले ३८औं नम्बरमा नागरिकता लिएको देखिन्छ ।
रोचक कुरा के छ भने, त्यस दिन ११८३० देखि ११८६० नम्बरका सबै नागरिकतामा एकै अधिकृतले सनाखत गरेका छन् । तर, ११८६१ देखि ११८७१ सम्म अर्कै अधिकृतले सनाखत गरिएको देखिन्छ । तर, दावाको नागरिकतामा कुन अधिकृतले सनाखत गरेका थिए भन्ने रेकर्डमा छैन । पुस १९ गते र पुस २१ गते भने नागरिकता वितरण डाटा(ढड्डा)मा सिताराम थापा नामका अधिकृतले नागरिकता वितरणमा सनाखत गरेको जिप्रकाको रेकर्डमा छ ।
दावाको नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत झपेन्द्र खरेलले हस्ताक्षर गरेको तथ्य भेटिएको छ । तर, जिप्रकाको ढड्डामा खरेलको नाम छैन । खरेल त्यतिबेला बनखुचौर महाभारत गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालयमा सरुवा भएर काभ्रेमा आएका थिए । तर, उनले त्यहाँ आवश्यक पूर्वाधार नभएको भन्दै तीन महिना जिप्रकामा बसेका थिए । तीन महिना बसे पनि त्यतिबेला उनको हाजिरी भने जिप्रकामा छैन । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।