नेपाल र भट्टराईसँग बयान लिने सीआईबीको तयारी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने विषयमा छलफल र तयारी थालेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यबीच यस विषयमा छलफल भएको हो । ‘ललिता निवासको जग्गा सम्बन्धमा मन्त्रिपरिषद्ले गरेका निर्णय र तत्कालीन मन्त्रिपरिषद्को नेतृत्व गरेका प्रधानमन्त्रीहरूसँग बयान लिने विषयमा माथिल्लो तहमा छलफल चलिरहेको छ’, सीआईबी स्रोतले भन्यो ।



गत सोमबार सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पिरामिड शैलीको अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबीले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसँग बयान लिने तयारी गरेको छ ।

किर्ते तथा संगठित अपराधमा अनुसन्धान गरिरहेको सीआईबीले ललिता निवास जग्गा प्रकरणमा चार सय ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि अहिलेसम्म १९ जना मात्रै हिरासतमा छन् । सर्वोच्च अदालतको आदेशअनुसार अनुसन्धानको दायरामा ल्याउन लागिएका पूर्वप्रधानमन्त्री नेपाल अहिले देशबाहिर छन् ।

उनले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वयसहित सरकारी उच्च अधिकारीलाई बयानका लागि बोलाउने वातावरण बनाउन प्रहरीलाई निर्देशन दिइसकेका छन् ।

उनले आफू देशबाहिर भए पनि अनुसन्धानमा सघाउने र आवश्यक परे तुरुन्तै फर्कने बताएका छन् । नेपालले यस मामिलामा आफूले केही नबिराएको दाबी गर्दै आएका छन् ।

उनले युरोप भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफू नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले तयार पारेको गुरुयोजनालाई अघि बढाएको बताएका थिए ।

नेपालको सचिवालयले पनि सर्वोच्च अदालको आदेशबारे जानकारी भएको र नेता नेपालले अनुसन्धानमा सघाउने जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार