रविको ब्लु बसको रङ कायमपछि पायो नयाँ रुट इजाजत

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेको क्षेत्रमा सञ्चालनमा रहेको ब्लु बसको बिलबुक अनुसारको रङ कायम गरिएपछि नयाँ रुट इजाजत प्रदान गरिएको छ ।

यातायात व्यवस्था कार्यालय भरतपुरले ना ५ ख ३१३८ नम्बरको सो बसको रङ र रुटको समस्या समाधान गर्दै नयाँ रुटको अनुमति दिएको हो । कार्यालयका अधिकृत सुरेश चपाईका अनुसार बसलाई कुरिनटार–नारायणगढ–भोजाड–पदमपुर–जुटपानी हुँदै शक्तिखोरको रुट कायम गरिएको छ ।



‘बसले बिलबुक र प्राविधिक जाँच पासबुकमा भरिएको रङ अनुसार कायम गरेर आएपछि हामीले रुट इजाजत पनि परिवर्तन गरिदिएका छौँ,’ अधिकृत चपाईले थपे, ‘अब गाडीको रुट कुरिनटार–नारायणगढ–भोजाड–पदमपुर–जुटपानी हुँदै शक्तिखोरको रुट कायम भएको छ ।’

सांसद लामिछाने निर्वाचित भएको एक सय दिन पुगेको अवसरमा साउन १७ गते घोषणा भएको कार्यक्रममध्येको एक चितवन २ का महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालन भएको हो । बस सञ्चालनका क्रममा रुट अनुमति र रङका बारेमा समस्या रहेको समाचार गोरखापत्रले सार्वजनिक गरेपछि यसको आलोचना सुरु भएको थियो । बसधनी भीमबहादुर तामाङले आफूहरूले नबुझेर नै समस्यामा परेको बताए ।

‘बसको रुट अनुमति वीरगन्जदेखि नारायणगढ–पोखरा–बागलुङ थियो तर हामीले चितवनको भित्री सडकमा चलाउँदा समस्या हुँदैन होला भन्ने सोचेका थियौँ,’ उनले भने । रङका सवालमा पनि बिलबुकमा भए अनुसार आफूहरूले परिवर्तन गरेको उनले जनाए ।

‘बसको अगाडिको वर्नटमा सेतो लगाएका छौँ। बसको दुवैतर्फ साइडमा धर्सा बनाएर मोडलिङ गर्दै सेतो, पहेँलो, गुलाबी र सिल्भर रङ लगाएका छौँ, जुन बिलबुक र जाँचपास प्रमाणपत्रमा उल्लेख भएको रङ हो,’ उनले भने । यसअघि बसलाई पूरै नीलो बनाइएको थियो । नीलो मात्रै सञ्चालन गर्न नदिने अडान यातायात कार्यालयले राखेपछि बाध्य भएर रङ परिवर्तन गरिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

 

सम्बन्धित समाचार