बेगनास तालको सार्वजनिक जमिनमा होटल र रेस्टुरेन्ट

कास्कीको दोस्रो ठूलो ताल बेगनासको किनारका सार्वजनिक जमिन अतिक्रमण गरेर होटल र रेस्टुरेन्ट सञ्चालन गरिएका छन् । तालको मापदण्ड मिचेर व्यक्तिगत घर बनाउनुको साथै नीजि होटल र रेस्टुरेन्ट पनि निर्माण गरिएका हुन् ।

बेगनास तालको माझिकुना क्षेत्र पछिल्लो समयमा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । त्यसै क्षेत्रको ताल किनारको कित्ता नम्बर ४८५ को करिब १५ रोपनी जमिन क्षेत्रको एक भागमा स्थानीय पदमराज लामिछानेले होटल बनाएर सञ्चालनमा ल्याएका हुन् ।



‘म वडा अध्यक्ष भएर आउनु अघि नै माझिकुना क्षेत्रको ताल किनारको सार्वजनिक जमिनमा होटल बनेको रहेछ,’ पोखरा ३१ का वडाअध्यक्ष ढकनाथ कँडेलले अन्नपूर्ण पोस्ट्सँग भने । ताल किनारको सार्वजनिक जमिनमा होटल बनाएको विषयमा अख्तियारबाट वडामा पत्र आएको पनि वडा अध्यक्ष कँडेलले जानकारी दिए ।

पोखरा महानगरबाट अमिन आएर नापजाँच हुन बाँकी नै रहेकाले यसको विवरण पठाउन नपाएको वडाअध्यक्ष कँडेलले बताए । अमिन, प्राविधिक लगेर जमिन नापेर जे देखिन्छ त्यही प्रतिवेदन पठाउने गरी काम अघि बढ्ने पनि उनले सुनाए ।

सार्वजनिक जमिन धेरै नै भए पनि अहिले उनीहरूले कभर गरेको घर मात्रै देखिएको पनि वडा अध्यक्षले कँडेलले बताए । जग्गा धनीमध्येका एक रामकृष्ण लामिछानेले माझिकुना क्षेत्रको त्यस जमिन आफूहरूले पुर्खांैदेखि उपभोग गर्दै आएको र दर्ताको प्रक्रियामा रहेको बताए ।

‘जग्गा आफ्नो भएको प्रमाणसहित दर्ताको प्रक्रिया अघि बढेको विषयमा अहिले कसरी यो कुरा आयो, हामीलाई थाहा भएन,’ उनले भने । त्यही प्रकृतिको जमिन अरूले उपयोग गर्दा र दर्ता गर्दासमेत कोही नबोल्ने, उस्तै प्रकृतिको जमिन दर्ताको प्रक्रियामा हामी जाँदा र भवन बनाउँदा प्रश्न उठ्नु न्यायसंगत नभएको उनले सुनाए । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

सम्बन्धित समाचार