गोलभेंडा किन महँगियो ९३० प्रतिशतले ?

उचित मूल्य नपाएका कारण बेच्नै नसकिएको भन्दै गत असारमा सडकमा फालिएको गोलभेंडाको मूल्य यतिखेर एकाएक आकाशिएर किलोकै १ सय ७० रुपैयाँसम्म पुगेको छ । गत असार ३ गते १० रुपैयाँ किलोमा पनि विक्री नभएपछि किसानले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिअगाडि सडकमा गोलभेंडा फालेर विरोध जनाएका थिए ।

मूल्य नपाएर किसानले सडकमै गोलभेंडा फालेको २ महीना पूरा नहुँदै छोइनसक्नु आकाशिनुको मूल्य मुख्य कारण भारत र नेपाल दुवैतिर गोलभेंडाको ‘अफ सिजन’ चल्नु हो । समितिको तथ्यांकअनुसार गत असार १ मा प्रतिकिलो १० रुपैयामा पनि नबिकेको टनेलको गोलभेंडाको थोक मूल्य अहिले ९ सय ३० प्रतिशतले बढेर १ सय ३ रुपैयाँ पुगेको छ ।



त्यसैगरी ठूलो नेपाली गोलभेंडाको मूल्य तीन सय ८५ प्रतिशतले बढेर ३५ रुपैयाँ किलोबाट १ सय ७० रुपैयाँ कायम भएको छ । गोलभेंडाको यो मूल्यवृद्धि पछिल्लो १ दशककै सबैभन्दा धेरै हो । असारमा ५ रुपैयाँ किलो मूल्य भएको सानो लोकल गोलभेंडालाई अहिले किलोको ७५ रुपैयाँ तिर्नुपर्छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गिताप्रसाद आचार्यले यतिखेर भारत र नेपाल दुवैतिर गोलभेंडाको अफ सिजन चलेकाले उत्पादन घट्न गई कालीमाटीमा आपूर्ति कम हुँदा मूल्य आकाशिएको बताए ।

यसबाहेक भारतमा गोलभेंडाको उत्पादन घटेर मूल्य बढेपछि नेपाली किसानले महँगोमा बेच्न भारततर्फ निर्यात गरिरहेका छन् । यसले पनि नेपाली बजारमा मागभन्दा कम आपूर्ति भई मूल्य बढेको उनले जानकारी दिए ।

सामान्य अवस्थामा कालीमाटी बजारमा दैनिक ६० देखि ६५ टन गोलभेंडा भित्रिन्छ । तर, अहिले ३५ देखि ४० टन मात्रै भित्रिने गरेको छ । अघिसम्म भारतले केही नेपाली गोलभेंडा आफ्नो देशमा आयात गर्न प्रतिबन्ध लगाएको थियो । अभाव भएसँगै भारतले प्रतिबन्ध फुकुवा गरेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार