पत्रपत्रिका
काठमाडौं, २० भदौ ।
भक्तपुरका एक २६ वर्षीय युवक विदेश जाने तयारी गर्दै थिए । आईइएलटीएस् परीक्षा दिएर कागजात बनाउँदै थिए । यसैक्रममा इन्स्टाग्राम पेजको टाइमलाइन स्टोरीमा उनले एक विज्ञापन देखे ।
उनले उक्त विज्ञापन भएको आईडीमा कुराकानी सुरु गरे । उक्त विज्ञापनमा भनिएको थियो, ‘सजिलै क्यानडाको भिसा लाग्ने र महिनाको ५ लाख ४५ हजार तलब पाइने ।’ आकर्षक तलबको प्रलोभनमा परेका उनले ३४ लाख ५७ हजार गुमाएका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार नक्कली विज्ञापनको भर पर्दा उनी ठगिएका हुन् । प्रहरीका अनुसार अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपरमिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरूले ठूलो रकम गुमाउन पुगेका हुन् ।
ठगी कार्यमा सलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कास्कीका लक्ष्मण नेपाली र सप्तरीका महाविरप्रसाद शाह छन् । प्रवक्ता रेग्मीका अनुसार विज्ञापन पछ्याउँदै सम्पर्कमा पुगेका युवकलाई उक्त इन्स्टाग्राम अकाउन्टको आईडीबाट क्यानडामा क्यासियरको काम लगाइदिने र भिसा आएपछि मात्रै पैसा दिनुपर्ने भन्दै सुरुमा प्रलोभनमा पारिएको थियो ।
ह्वाट्सअप अकाउन्टबाट कागजात मगाई भिसा प्रोसेसिङका लागि पटकपटक उनीहरूले ३४ लाख ५७ हजार रुपैयाँ ठगी गरेका थिए । नेपालमा रहेका विभिन्न व्यक्तिको नाममा उनीहरूले पैसा डिपोजिट गर्न लगाउने गर्थे ।
पक्राउ परेका लक्ष्मण नेपालीको अकाउन्टमा मात्रै पीडितले २८ लाख बढी पैसा डिपोजिट गरेका छन् । प्रहरीका अनुसार कहिले भिसा प्रक्रिया अगाडि बढाउन त कहिले कागजात पेस गर्न तथा कहिले सर्टिफिकेट प्रमाणित गर्न भन्दै पैसा माग्ने गरेका थिए ।
आकर्षक तलबको लोभमा परेका पीडित युवकले ३४ लाख बढी पठाउँदासमेत आफू ठगिएको पत्ता पाएनन् । जब ठगी गर्नेहरू सम्पर्कविहीन भए उनले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए । पैसा पठाएको व्यक्ति खोज्ने क्रममा नेपालमा बसेर लक्ष्मण र महाविरले पैसा उठाउने गरेको प्रमाण प्रहरीले फेला पारेको छ । प्रहरीसँगको बयानका क्रममा महाविरले आफूले पाकिस्तानी नागरिकको अनुरोधमा काम गरेको बताएका छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।