नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असोज ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यतामा नेपाली काङ्ग्रेस रूपान्तरण अभियान बागमती प्रदेशद्वारा आयोजित तथा नेपाली काङ्ग्रेस बेलकोटगढी नगर कार्यसमिति, नुवाकोटको व्यवस्थापनमा काठमाडौंको राष्ट्रिय सभागृहमा ‘१४औं महाधिवेशनको सङ्कल्प, उत्साह, एकता र रूपान्तरण विषयक विचार गोष्ठी’ आइतबार सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व नेपाली काङ्ग्रेस रूपान्तरण अभियान, बागमती प्रदेशका संयोजक जगदीश्वरनरसिंह केसीले गरेका थिए ।
कार्यक्रममा बोल्ने सबै वक्ताहरूले आवेगमा होइन, विवेकले कामगरी ‘मरेकाले जोगाएको पार्टी’ भन्ने चिनारी बोकेको पार्टीलाई अब नयाँ शिराबाट शुरू गरी समग्र नेपाली राजनीति र नेपाली काङ्ग्रेसको राजनीतिलाई डोर्याउन जरूरी रहेको कुरा मुख्य रूपमा उठाइएका थिए ।
सभापतिको आशनबाट कार्यक्रमलाई सम्बोधन गर्दै केसीले भने– ‘कार्यक्रममा उठाइएका सम्पूर्ण सुझावलाई आत्मसात् गरेर विगतको भन्दा अझ परिमार्जित भएर ढृढसंकल्पका अगाडि बढ्ने तथा भाषणभन्दा पनि कामलाई प्राथमिकता दिएर रूपान्तरण अभियानलाई थप सशक्त रूपमा गतिशील बनाउने कुरामा म प्रतिबद्धता व्यक्त गर्दछु ।’ उनले आत्मसीक्षात्मक शैलीमा प्रश्न पनि गरे ‘बीपी कोइरालाका कार्यकर्ता भएर हामीले परिवर्तनलाई आत्मसात् गर्न किन सकिरहेका छैनौं !?’
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेताहरू अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडु, नेपाली काङ्ग्रेसका नेता तथा केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, मधु आचार्य, अजयबाबु शिवाकोटी, गणेश लामा, प्रदेश सभापतिहरू, जिल्ला सभापतिहरू, पूर्व तथा निवर्तमान जिल्ला सभापतिहरू, रूपान्तरण अभियानकर्मीहरू, विभिन्न पेशागत व्यवसायीहरू तथा नेपाली काङ्ग्रेसका क्रियाशील सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।
करिब ५ घण्टा चलेको कार्यक्रमको अन्त्यमा सभापति केसीले भने ‘कार्यक्रममा धैर्यताका साथ सहभागी भई रूपान्तरण अभियानले उठाएको सम्पूर्ण मुद्दाहरूमा ऐक्यबद्दता जनाउनु हुने यहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’