नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असोज ।
भूकम्पबाट बैतडीमा दुईजना घाइते भएका छन् । मंगलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पमा परी सिगास गाउँपालिका–२ धौलाडकी ३५ वर्षीया कलशा धामी र डिलाशैनी गाउँपालिका–२ रोपनबगडकी १० वर्षीया नीरा भण्डारी घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार कलशा घर नजिकै खरबारीमा खर काटिरहेका बेला भूकम्पका कारण सुख्खा पहिरोसँगै खसेको ढुङ्गा लागेर घाइते भएकी हुन् । उनको टाउकोमा चोट लागेको छ । कलशाको हाल गाजरी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
यस्तै विद्यालयबाट घर फर्किरहेका बेला भूकम्पका कारण सडक माथिबाट खसेको ढुङ्गा लागेर खुट्टामा चोट लागेकी नीराको कोटपेटरा स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । यसका साथै जिल्लामा भूकम्पबाट भौतिक संरचनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
भूकम्पबाट सिगास गाउँपालिका– ३, घकुराडीका रघुवीर साउदको घरमा क्षति पुगेको छ । सिगासकै लेकलुपण माविको भवनमा पनि क्षति पुगेको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट आसपास केन्द्र भएर ५ दशमलव ३, ३ बजेर ६ मिनेट चैनपुर आसपास केन्द्र भएर ६ दशमलव ३ र दिउँसो ३ बजेर ४५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।रासस