सवारी दुर्घटनामा एक जनाको मृत्यु

मकवानपुरमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मकवानपुर, बकैया गाउँपालिका-५ तिनतलेस्थित सडकमा ना.१ घ ५४४ नम्बरको ट्याङ्कर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खोसेर बुधबार दिउँसो दुर्घटना हुँदा चालक हेटौडा उपमहानगरपालिका-९ हिट बस्ने ३४ वर्षीय सिद्धान्त लामाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ट्याङ्करका सह-चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैबीच आजै मकवानपुरको हेटौँडामा ट्रकले म्याजिकलाई ठक्कर दिँदा नौ जना घाइते भएका छन् भने तीनको अवस्था गम्भीर रहेको छ । हेटौँडा उपमहानगरपालिका–१९ सान्नानीटारमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत सान्ननीटारमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज ३१६७ नम्बरको म्याजिकलाई सोही दिशाबाट आएको ना५ख ९६८४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा उक्त घटना भएको प्रहरी प्रवक्ता भण्डारीले बताए । सडक किनारमा रोकी यात्रु चढाईरहेको अवस्थामा म्याजिकलाई ट्रकले ठक्कर दिएको उनले बताए ।



घटनामा परी घाइते भएका हेटौँडा ११ थानाभञ्ज्याङका ३६ वर्षका विमल पुलामी मगर, हेटौँडा १९ नेवारपानीका लोकबहादुर मोक्तानकी दुई वर्षकी छोरी कुश्मी मोक्तान र सोही स्थानकी ५६ वर्षकी ठूलीमाया बम्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते मोक्तान र बम्जनलाई उपचारका लागि चितवन र बाँकी सातजनालाई उपचारका लागी हेटौँडा अस्पताल ल्याइएको प्रवक्ता भण्डारीले जानकारी दिए । ट्रक तथा म्याजिक चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताउनुभयो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार