नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ कार्तिक ।
भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा इङ्ल्यान्डले विजयी भएको छ । बुधबार भएको खेलमा साबिक विजेता इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई १६० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
जारी प्रतियोगितामा इङ्ल्यान्ड यो दोस्रो जित हो भने नेदरल्यान्ड्सको छैटौं हार । पुनेस्थित महाराष्ट्र क्रिकेट संघको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३३९ रन बनाएको थियो । इङ्ल्यान्डका लागि बेन स्टोक्सले १०८ रनको शतकीय पारी खेले भने डेविड मलानले र क्रिस वोक्सले अर्धशतकीय पारी खेल्दै क्रमश: ८७ र ५१ रन बनाए ।
त्यस्तै जो रुटले २८ रन जोड्दा जोनी बेयरिस्टोले १५ रन बनाए । नेदरल्यान्ड्सका लागि बास डि लिडेले ३ विकेट लिए भने आर्यन दत्त र लोगन भान बिकले समान २ विकेट लिँदा पल भान मिक्रेनको भागमा एक विकेट रह्यो । ३४० रनको लक्ष्य लिएर मैदान उत्रेको नेदरल्यान्ड्स ३७.२ ओभरमा १७९ रनमा अलआउट भयो ।
नेदरल्यान्ड्सका लागि तेजा निदामानुरु ४१ रनमा अविजित रहँदा कप्तान स्टक एड्वाडर्सले ३८ रन बनाए । यस्तै विस्ली बेरेसीले ३७ रन बनाई आउट भए भने साइब्रान्ड एन्गलब्रेचले ३३ र बास डि लिडेले २० रन जोडे । इङ्ल्यान्डका लागि मोइन अली र आदिल राशिदले समान ३-३ विकेट लिए भने डेविड विलीले २ विकेट लिँदा क्रिस वोक्सको भागमा एक विकेट रह्यो ।
जितसँगै इङ्ल्यान्ड ८ खेलमा २ जित र ६ हारसहित ४ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ भने समान खेलमा २ जित र ६ हारसहित ४ अंक नै जोडेको नेदरल्यान्ड्स तालिकाको पुछारमा रहेको छ ।