सन्दीप लामिछानेको मुद्दामा जिल्ला अदालत काठमाडौँले दियो यस्तो आदेश

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौँले बहस नोट एक महिनाभित्र पेस गर्न आदेश गरेको छ । बिहीबार जिल्ला अदालत काठमाडौँले यस्तो आदेश दिएको हो ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बिहीबार सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेस गर्न आदेश गरेको हो । लामिछानेको मुद्दा फैसलाका लागि पेसी चढ्दै आएको छ ।



आदेशमा २०८० मङ्सिर २२ गते कार्यालय समय भित्र जाहेरवाला, बादी नेपाल सरकार र प्रतिवादीको तर्फबाट लिखित बहस नोट पेस गर्न लगाई मिसिल सामेल गर्न भनिएको छ । त्यस्तै मङ्सिर २४ गतेको लागि प्रस्तुत मुद्दा सुनुवाइ हुने पेशी तारेख तोकी वादी तथा प्रतिवादीबाट स्थगित नहुने गरी जानकारी गराउन भनिएको छ ।

लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दा हालसम्म २६ पटक पेसीमा चढिसकेको छ । लामिछानेविरुद्ध नाम परिर्वतन (गौशाला) ले जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् । नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिँदै विदेशमा हुने प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।

सम्बन्धित समाचार