नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० फागुन ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मोरङ, रंगेली नगरपालिका-७ बसपार्कस्थित सडकमा को.१ क १५२९ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-३ रंन्जनी बस्ने ५० वर्षीय अर्जुन देव भट्टराईको मृत्यु भएको छ ।
मंगलबार साँझ बसको ठक्करबाट गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै महोत्तरी, गौशला नगरपालिका-३ स्थित सडकमा गौशालाबाट औरहीतर्फ जाँदै गरेको ज.४ प ३४२७ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सोही नगरपालिका-१ बस्ने ५२ वर्षीया राज कुमारी देवीको मंगलबार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । उता सिन्धुली, कमलामाई नगरपालिका-१३ माथील्लो रानिबासमा म.प्र.०४-००१ क ००५१ नम्बरको ट्रक र बा.९२ प ६५६२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही हरिवन नगरपालिक-७ बस्ने ३० बर्षीय रिद्दि बहादुर मिरिङसिङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता रूपन्देही, ओमसतिया गाउँपालिका-१ ठुटीपिपलमा लु.१२ प ७१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका-८ दिपनगर बस्ने २१ वर्षीय अमित पन्थीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी धनकुटा, साँगुरीगढी गाउँपालिका-७ गर्जुवास्थित सडकमा को.१ च ३२८० नम्बरको मारूती भ्यान र को.३३ प ८३५७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-६ बस्ने २५ वर्षीय दिवश तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मारूती भ्यान र मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।