नवकान्तिपुर संवाददाता
काठमाडौं, १ चैत ।
उदयपुर, बेलका नगरपालिका-७ मेनामैनीमा सुनसरी धरानबाट भोजपुर घोडेटारतर्फ जाँदै गरेको को.१ ज २५९३ नम्बरको बोलेरो जिप सडकबाट करिब ४ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ७ जनाको घटनास्थलमै र १ जनाको धरान बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा इटहरी-९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका-२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी-५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी-५ का ४२ वर्षीय किशन राई रहेका छन् । किशन राईको उपचारका क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । जिपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको देखिएकाले दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।