नवकान्तिपुर संवाददाता
काठमाडौं, २ चैत ।
देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् । काठमाडौं, टोखा नगरपालिका-९ लक्ष्मीनगरस्थित होटल रियात गेष्ट हाउसको छतमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक संखुवासभा धर्मदेवी नगरपालिका-६ घर भएका ५० वर्षीय तुलाराम निरौला सहित ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ८ सय ५० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । त्यस्तै झापा, शिवसताक्षी नगरपालिका-१० स्थित रतुवामाई वृक्षारोपण आयोजनाको चौकिदार बस्ने भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय राजेन्द्र कुमार पदालुङ सहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ८ सय ७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस्तै सुनसरी, धरान उपमहानगरपालिका-४ देविथानस्थित न्यू देविथान होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा धनकुटा महालक्ष्मी नगरपालिका-१ बस्ने ३३ वर्षीय गंगा बहादुर कटुवाल सहित ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यता कैलाली, धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित रोहित होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही उपमहानगरपालिका-५ बस्ने ४१ वर्षीय कालुराम चौधरी सहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५ सय ८५ रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।