ललितपुर ढोलाहिटी हत्याकाण्ड : चक्कु प्रहार गरी हत्या गरेको घटनामा संलग्न चार जना पक्राउ

ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा सुनसरी धरान उपहानगरपालिका-१३ जिरो घर भएका २८ वर्षीय रोवश राई र पाँचथर मिक्लाजुङ गाउँपालिका-६ घर भएका २७ वर्षीय पुजन राईको धारिलो हतियार चक्कु प्रहारबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा खोटाङ साकेला गाउँपालिका-२ सेखुवा घर भई ललितपुर महानगरपालिका-२६ जैनखेल बस्ने डि पोपिना रेष्टुरेन्टका संचालक ३१ वर्षीय बिजय राई, खोटाङ साकेला गाउँपालिका-२ रतन्छा घर भई ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने डि पोपिनाका संचालक ३० वर्षीय सुलभ राई, भोजपुर ट्याम्केमयुङ गाउँपालिका- २ अन्नपूर्ण घर भई ललितपुर महानगरपालिका- २६ जैनखेल बस्ने ३८ वर्षीय बिशाल हाङ मुकारूङ राई र काठमाडौं गोकर्णेश्वर नगरपालिका-११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई रहेका छन् ।



साथै प्रहरीले थप अनुसन्धानको लागि अन्य ८ जनालाई समेत नियन्त्रणमा लिएको छ । ललितपुर ढोलाहिटीस्थित डि पोपिना रेष्टुरेन्टमा युवाहरूको समूह बिच विवाद हुँदा रेष्टुरेन्टका संचालक बिजय राई समेतले रेष्टुरेन्ट भान्सामा रहेको चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका पुजनको सुमेरू अस्पतालमा र रेवशको पाटन अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको थियो ।

प्रहरीले हाल फरार घटनाको मुख्य प्रतिवादीहरूलाई भगाउने १ जना व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार