नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ चैत ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । पाल्पा, तिनाउ गाउँपालिका-३ ओडारखोला बस्ने २५ वर्षीय होम बहादुर थापा सोही गाउँपालिका-३ साँझगैरास्थित जंगलमा आइतबार मृत अवस्थामा फेला परेका छन् । चैत ११ गते काम गर्न जान्छु भनि हिँडेका उनी सम्पर्कमा नआएकाले खोजी गर्ने क्रममा शव फेला परेको हो ।
त्यस्तै दोलखा, बैतेश्चर गाउँपालिका-१ बोहोरागाउँ बस्ने श्याम बहादुर तामाङको छोरा ३ वर्षीय समिर तामाङ आफ्नै ओछ्यानमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै गुल्मी, सत्यवती गाउँपालिका-६ बिडौरी बस्ने ४८ वर्षीय घनश्याम भण्डारी सोही गाउँपालिका-५ हंसरास्थित रुम्दाखोल्सामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यता गोरखा, धार्चे गाउँपलिका-६ कासिगाउँ बस्ने ४३ वर्षीय फुल बहादुर गुरुङ सोही ठाउँस्थित नन्दी जंगलमा आइतबार मृत अवस्थामा फेला परेका छन् । शनिबार दाउरा काट्न भनी हिँडेका उनी घर फर्की नआएकाले खोजी गर्ने क्रममा शव फेला परेको हो । उता बाँके, नेपालगंज उपमहानगरपालिका-२१ बृत्तास्थित ग्राबिल बाटोको छेउमा सोही ठाउँ बस्ने २२ वर्षीय महमद अरबि खाँ आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित भोटेकोशी खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै मकवानपुर, बकैया गाउँपालिका-६ ठुलोसुधा बस्ने सन्दिप बोम्जनकी छोरी ८ वर्षीया पूर्णिमा बोम्जन सोही ठाउँस्थित बाघ भैरब सामुदायिक वनको सुधा भिर तल शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता काठमाडौं महानगरपालिका-३१ प्रयागमार्ग चोक नजिक गल्लीको बाटोमा सोही ठाउँ बस्ने उदयपुर गाईघाट रातोपानी घर भएका २६ वर्षीय बिक्रम राई शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, टोखा नगरपालिका-३ साईबाबा चोक डेरा गरी बस्ने दाङ घर भएकी २७ वर्षीया रेखा थापा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यसैगरी पाल्पा, तिनाउ गाउँपालिका-२ खुर्साने बस्ने ७२ वर्षीया प्रेम कुमारी घर्ती सोही ठाउँ स्थित भिरको रूखमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । शुक्रबार खुर्साने बजार जान्छु भनी हिँडेकी उनी घर नफर्किएकोले खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।