नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ चैत ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो । रौतहट, परोहा नगरपालिका-४ लौकाहास्थित सडकमा बीआर ०५ बीबी २८४० नम्बरको मोटरसाइकल र बीआर ३० यु २७६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा बीआर ०५ बीबी २८४० नम्बरको मोटरसाइकल चालक बौधिमाई नगरपालिका-४ बस्ने २५ वर्षीय सुरेश पासवानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बीआर ३० यु २७६७ नम्बरको मोटरसाइकल चालकलाई उपचारको लागि वीरगंज हेल्थ केयरमा र सोही मोटरसाइकलमा सवार १ जनालाई प्रादेशिक अस्पताल गौर पठाइएको छ ।
त्यस्तै झापा, कन्काई नगरपालिका-८ बिरिङ पुलमा प्रदेश-१-०१-०१२ प ५७७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका-३ बस्ने २७ वर्षीय पूर्णिमा भण्डारीको छोरा ८ वर्षीय प्रशान्त भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको विर्तासिटी अस्पताल विर्तामोडमा र मोटरसाइकलमा सवार दुई जनाको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । यस्तै खोटाङ, बराहापोखरी गाउँपालिका-१ भिरगाउँस्थित सडकमा मे.१ त ८५९७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ७ सय मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा चालक झापा बुद्धशान्ति नगरपालिका-४ बस्ने २८ वर्षीय अमृत लिम्बुको मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई उपचारको लागि उदयपुर गाइघाटतर्फ पठाइएको छ ।यता मकवानपुर, हेटौडा उपमहानगरपालिका-११ नवलपुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय ज्ञाने सुनारको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता महोत्तरी, मनराशिश्वा नगरपालिका-७ झिङ्गास्थानस्थित सडकमा ज.५ प ९१४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बलवा नगरपालिका-११ बस्ने ३६ वर्षीय जीत नारायण यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।