नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ चैत ।
बैतडी जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा ट्र्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका ३० वर्षीय राजेश चौधरी र बैतडीको पाटन–१० पनालीका ५० वर्षीय मानबहादुर विष्ट रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । उनीहरू दुवै जनाको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण यकिन भइनसकेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।