नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ वैशाख ।
सिन्धुपाल्चोक जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् ।
दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र थामी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको छ ।