नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ वैशाख ।
सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्क गरी हवाइ टिकट मिलाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा तारकेश्वर नगरपालिका-५ बस्ने २९ वर्षीया सुनिता लामिछानेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त ठगी गर्ने कार्यमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित ज्वाइन्ट भिजन ट्राभल एण्ड टुर्स प्रालि सञ्चालन गरी बस्ने सुनितालाई गोकर्णेश्वर नमुना बस्तिबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा सुनिताले नक्कली हवाइ टिकट बनाउने गरेको, बैंकिङ कसूर सम्बन्धी मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंमा ३ जनाको निवेदन रहेको तथा हालसम्म ८ जनाले ठगी सम्बन्धी कसुरमा जाहेरी दिएको समेत खुल्न आएको छ । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।