‘के तपाईंले मेरो देवता देख्नु भयो ?’

‘नेपालका हराएका देवताका मूर्तिहरू’ को बारेमा निर्देशक अमिताभ जोशीद्वारा निर्देशित वृत्तचित्र ‘के तपाईंले मेरो देवता देख्नु भयो’ (ह्याब यू सिन माई गडरु) को पहिलो प्रदर्शन २०८१ असोज १६ गते ठमेल काठमाडौंस्थित छाया सेन्टरको क्युएफएक्स सिनेमामा भएको छ । उक्त प्रदर्शनमा अमेरिकन अष्ट्रेलियन, युरोपियन युनियन, मलेसियन र बेलायती राजदूतावासका कुटनीतिज्ञहरुलगायत विभिन्न संघ संस्थाका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

उक्त वृत्तचित्रले नेपालबाट विभिन्न समयमा चोरी भई विदेश लगिएका र अनुसन्धानपश्चात प्राप्त भएका देवताका मूर्तिहरूलाई नेपाल फर्काउने पहल र त्यसको साँस्कृतिक महत्वको बारेमा सनसनीपूर्ण तथ्य उजागर गरेको छ भने उक्त वृत्तचित्र अझै पूर्ण रूपमा निर्माण हुन भने बाँकी नै छ । यस वृत्तचित्र केवल एक वृत्तचित्र मात्र नभई नेपालका हराएका चोरिएका मूर्तिहरूलाई नेपालमा फिर्ता ल्याउने अभियानको शुरूवाती चरण भएको र खोज तथा अनुसन्धानको निरन्तरता आवश्यक भएको कुरा निर्देशक जोशीले बताएका छन् ।

उक्त वृत्तचित्रको बारेमा वरिष्ठ पत्रकार कनकमणि दीक्षित र अलिसा सिजापती, कलाकार लेखक लैनसिंह बाङ्देल, जुगैल सिक र जोय डेभिसले नेपालका साँस्कृतिक सम्पदाहरू स्वदेश फिर्ता ल्याई सङ्ग्राहलयमा राख्न गरिएका प्रयासहरूमध्ये सबैभन्दा सराहनीय प्रयास यो वृत्तचित्र भएको र यसले उक्त कार्यमा सहयोग पुर्याउनमा कोशेढुङ्गाको काम गर्ने बताए ।

उक्त वृत्तचित्र प्रदर्शनको प्रायोजन दया फाउण्डेशन, नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल कला परिषदले संयुक्त रूपमा गरेको हो भने उक्त कार्यक्रमको संयोजन दया फाउण्डेशनकी पूर्व अध्यक्ष एवं कल्चर विभागका प्रमुख निभा माथेमा प्रधानले गरेकी हुन् । वृत्तचित्र प्रदर्शनपछि निभा माथेमा प्रधानले दर्शकदीर्घा एवं निर्मातासँग प्रश्नोत्तर गर्दै वृत्तचित्रको औचित्यता बारेमा थप प्रकाश पारेकी थिइन् ।

सांस्कृतिक सम्पदाको महत्व र त्यसलाई पुनः प्राप्तिको प्रयासलाई उजागर गर्न उक्त वृत्तचित्रले सन् १९८४ मा पाटनको लक्ष्मी–नारायणको चोरी भएको मुर्तिलाई सन् २०२१ मा फिर्ता ल्याई पुनःस्थापित गरिएको घटनालाई रोचक ढंगले पस्किएको छ ।

सम्बन्धित समाचार