नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ मंसिर ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बाँके, जानकी गाउँपालिका-४ बकसपुरस्थित अम्बे स्टिल कम्पनीको कम्पाउन्डमा भे.१ क २०१० नम्बरको क्रेनको ठक्करबाट सुर्खेत गुर्भाकोट नगरपालिका-१३ बस्ने २३ वर्षीय दिपेन्द्र पङ्गालीको सोमबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै कास्की, पोखरा महानगरपालिका-९ न्यूरोडस्थित सडकमा बा.१३ च २५७५ नम्बरको स्कारपियोले ग.१८ प ४९११ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा स्कुटर चालक रूपा गाउँपालिका-४ भाउडाँडा बस्ने २० वर्षीया प्रतीक्षा सिंहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको पद्म नर्सिङ होम न्यूरोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै मोरङ, सुन्दरहरैंचा नगरपालिका-१ पचामस्थित सडकमा प्रदेश १-०४-००१ च ०१९५ नम्बरको पिकअप गाडीले बा. ९८ प ६७०८ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक बिराटनगर महानगरपालिका-१० बस्ने २४ वर्षीय हर्ष ढकालको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता कपिलवस्तु, बाणगंगा नगरपालिका-६ सुठौलीस्थित सडकमा लु.३२ प ३०१ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ नकसिया बस्ने २४ वर्षीय निसान न्यौपानेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


