जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपिएलको फाइनलमा

सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । बुधबार दिउँसो भएको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रनको योगफल बनायो । जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै तीन चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाए । त्यस्तै शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । लाहिरु मिलन्था र हर्ष ठोकरले समान १२-१२ रन जोडे भने आसिफ शेख र अरनिको यादवले समान ११÷११ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए भने सैफ जैबले दुई विकेट लिए । त्यस्तै स्कट कुगेलेइन र अविनाश बोहराले समान एक–एक विकेट लिए । जनकपुरले दिएको १४० रनको लक्ष्य लिएर मैदान उत्रेको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

सुदूरपश्चिमको लागि बिनोद भण्डारीले ५५ बलमा तीन चौका र तीन छक्काको मद्दतमा अविजित रहँदै ५८रनको अर्धशतकीय पारी खेले भने सैफ जैबले २१ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३२ रन बनाए ।

त्यस्तै ब्रान्डन म्याकमुलेनले १९ बलमा एक चौका र एक छक्काको सहयोगमा २५ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा एक चौका र एक छक्का प्रहार गर्दै २० रनमा अविजित रहे ।

जनकपुरको लागि ललित्नारायण राजवंशी, किशोर महतोले समान एक-एक विकेट लिए । सुदूरपश्चिम विजयी भएसँगै फाइनल प्रवेश गरेको छ भने पराजित जनकपुरले भने फाइनल प्रवेशको लागि कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल खेल्नु पर्ने हुनेछ । बुधबार भएको एलिमिनेटर खेलमा चितवनलाई २१ रनले पराजित गर्दै कर्णाली ‘क्वालिफायर टु’ मा मा प्रवेश गरेको हो ।

सम्बन्धित समाचार