नवकान्तिपुर संवाददाता
काठमाडौं, २० पुस ।
त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्टले एक विज्ञप्ति प्रकाशित गरी नेपालमा सामाजिक सृजन-नवप्रवर्तन कार्यक्रम : वैश्विक नेतृत्व तथा व्यवस्थापन शीतकालीन शिविर २०८१, पुस २० गतेदेखि ललितपुरको टेवा परिसरमा सुरु भएको जनाएको छ।
विज्ञप्तिमा यो कार्यक्रम जनवरी ४ देखि ८ सम्म सञ्चालन हुने तथा यो कार्यक्रम युनेस्को युनिटविन, ह्यान्डोङ ग्लोबल विश्वविद्यालय, दक्षिण कोरिया र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (सोमटियु), नेपालको संयुक्त आयोजनामा गरिएको उल्लेख छ।
कार्यक्रमले नेपाली तथा कोरियाली प्राध्यापकहरू, अनुसन्धानकर्ताहरु, कर्मचारीहरु एवम् विद्यार्थीहरूलाई एकसाथ ल्याई बहुसांस्कृतिक सहकार्यको वातावरण सिर्जना गरेको छ।
उद्घाटन समारोह सोमटियुका उपनिर्देशक फूलप्रसाद सुवेदीको संयोजनमा सम्पन्न भएको थियो । कार्यक्रममा ह्यान्डोङ ग्लोबल विश्वविद्यालयका प्राध्यापकहरू प्राडा सू यङ चाङ, प्राडा ब्युङ डक काङ, प्राडा गुन बे जाङ, प्राडा क्यु बङ चो तथा प्राडा कुक वुन लीको उपस्थिति रहेका थियो।
सोमटियुका सह-प्राध्यापक डा. जीतेन्द्र डंगोलले कार्यक्रमका उद्देश्य तथा गतिविधिहरूको विस्तृत जानकारी दिँदै परिचय सत्र सञ्चालन गर्नुभएको थियो।
उद्घाटन सत्रमा कोरियाका प्राध्यापकहरू प्राडा सू यंग चाङ एवम् प्राडा ब्युङ डक काङ साथै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राडा महानन्द चालिसे तथा वरिष्ठ प्राडा डिल्लीराज शर्मालगायत नेपाली शिक्षाविद्हरूले प्रेरणादायी सम्बोधन गर्नुभयो । सम्बोधन गर्ने क्रममा उहाँहरूले वैश्विक नेतृत्व र नवप्रवर्तनको महत्त्वलाई जोड दिनुभयो।
उद्घाटन सत्रको समापनमा सोमटियुका निर्देशक सह-प्राडा गोविन्द तामाङले आयोजक, सहभागी र प्रायोजकहरूलाई कार्यक्रम सफल बनाउनको लागि गर्नु भएको योगदानप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यस पाँचदिने शिविरमा नेतृत्व तथा व्यवस्थापन सीप विकास गर्ने विभिन्न कार्यशालाहरू, अन्तर्क्रियात्मक सत्रहरू एवम् सहकार्यपूर्ण गतिविधिहरू सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ।
यस कार्यक्रमलाई शिक्षा मन्त्रालय, कोरियाली गणतन्त्रको प्रायोजन रहेको पनि जनाइएको छ।