दशरथ उप्रेती
काठमाडौं, १६माघ ।
अमेरिकामा औसत मान्छेको १०३ हजार डलर व्यक्तिगत ऋण भएको अनुमान छ । यस हिसाबले चार पाँच जनाको एउटा परिवारमा ५/६ लाख डलर ऋण हुने नै भयो, जसमा घर, गाडी, क्रेडिट कार्ड, छोराछोरीको स्टुडेण्ट लोन आदि पर्छन् ।
अमेरिका आफैं ३६ ट्रिलियन डलर ऋणमा छ । ऋणका संख्याहरु सामान्य क्यालकुलेटरमा अँटाउँदैनन् पनि । यस आँकडालाई आधार मान्दा एउटा अमेरिकनको टाउकोमा १०६ हजार डलर वैदेशिक ऋण (राष्ट्रिय दायित्व) छ ।
उपरोक्त तथ्यमा दृष्टिगत गर्दा मेरो परिवारको टाउकोमा मात्र ११ लाख डलर भन्दा माथिको ऋण छ । यही कारण अमेरिका छिरेको व्यक्तिको जिन्दगी ऋणको चक्रव्युहमा यसरी फँसेको छ कि ऊ चाहेर पनि निस्कनै सक्दैन । अनि ‘धनी देश अमेरिकामा बस्ने म’ र ‘म धनी’ भनेर के फूर्ति लाउनु ?
राष्ट्रपति ट्रम्प व्यापारी हुन् । उनी पैसा बचाउने कुरा गर्छन् । America first, by American hire American भन्छन् । संसारभरि दिएको सैन्य र गैरसैन्य सहयोग रोक्ने घोषणा गर्दछन् । ‘हाम्रा सेनाको सहयोग तिमीलाई चाहिन्छ भने पैसा तिर’ भन्छन् । ‘तिम्रा देशका अवैधानिक नागरिक फिर्ता लैजाने जिम्मा तिम्रै हो’ भन्छन् । ‘यहीँको तेल निकाल्छु, हामीले विदेशको तेल किन्नु पर्दैन’ भन्छन् । मौसम परिवर्तनमा पनि उनको आफ्नै खालको तर्क छ ।
एक हिसाबले ट्रम्प अमेरिकालाई आफैंतिर फर्काउँदै छन् । अरु वा संसारको मतलब छैन ट्रम्पलाई । लाग्छ यिनलाई आफूू डुबेर गर्ने समाज सेवासँग कुनै मतलब छैन । संसारले मानोस् वा नमानोस् (सस्तो लोकप्रियताको लागि) त्यसको पनि मतलब छैन उनलाई । उनले चुनावका बेला जनतामाझ गरेका बाचाहरु ड्याङ कि ड्याङ पूरा गर्दैछन् ।
यो ठीक हो कि बेठीक हो र यसको परिणाम् के हुन्छ ? अहिल्यै भन्न सकिन्न तर यस्तै भइरहेको छ । अहिलेको वस्तुगत सत्य यही हो । ‘पहिले तिमी आफू बन अनि मात्र तिमी अरुलाई सहयोग गर्न सक्छौ । स्वार्थी बने मात्र तिम्रो प्रगति हुन्छ’ भन्ने गरिन्छ । यो भनाइ राष्ट्रपति ट्रम्पमा लागु हुँदैछ । जय होस् ।
(यो सामग्री प्रकाशन योग्य देखेर उप्रेती सरको फेसबुक वालबाट लिइएको हो। सामान्य सम्पादन गरिएको छ ।)