एचपिभी खोप अभियान : अभिनेत्री कोइरालालाई सद्भावनादूत घोषणा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपिभी खोप अभियानका लागि वरिष्ठ अभिनेत्री एवं समाजसेवी मनिषा कोइरालालाई सद्भावनादूत घोषणा गरेको छ । मन्त्रालयले बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी उहाँलाई सद्भावनादूत घोषणा गरेको हो ।

कार्यक्रममा अभिनेत्री कोइरालाले आफू क्यान्सरबाट पीडित भएर निको भएको बताउँदै निरोधात्मक पूर्वतयारी गरे पाठेघरको मुखको क्यान्सरबाट हुने जोखिमबाट बच्न सकिने उल्लेख गर्नुभयो । खोपको प्रोत्साहन गर्ने सामाजिक काममा सहभागी हुन पाउँदा गर्व महसुस भएको बताउँदै उहाँले यस अभियानमा सबैलाई हातेमालो गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

सङ्घीय सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान यही माघ २२ गतेदेखि सुरु गर्दैछ । आगामी फागुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने यस अभियानअन्तर्गत १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई एचपिभी खोप लगाइँदैछ ।

एचपिभी खोप लगाएमा पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित हुन सकिने र खोप प्रारम्भिक किशोर अवस्थामा लगाएमा प्रभावकारी हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस सन्दर्भमा प्रारम्भिक किशोरावस्था भन्नाले १० देखि १४ वर्षको उमेरलाई बुझाउँछ ।

मन्त्रालयले यही माघ २२ गते (विश्व क्यान्सर दिवसका) दिन खोप अभियानको सुरूआत गर्ने जनाएको हो । नेपालमा औसतमा हरेक दिन छ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र चारजना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले जनाएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रूपमा नरहने अवस्थामा पु¥याउन सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण गरेको जानकारी दिनुभयो । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तीमा ९० प्रतिशत किशोरीलाई एचपिभी खोप दिइने र ३० वर्षभन्दा माथिको उमेर समूहका कम्तीमा ९० प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार पाठेघरको मुखको क्यान्सर पहिचान भएका कम्तीमा ९० प्रतिशत महिलाको उपचार गरिने छ ।

यो वर्ष देशव्यापी रूपमा एचपिभी खोप अभियान सञ्चालन गरिँदैछ । यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपिभी खोप दिइनेछ ।

मन्त्री पौडेलले भन्नुभयो, “मुलुकलाई सबैखाले क्यान्सरमुक्त बनाउन उपचारात्मक मात्र होइन अब निरोधात्मक अभियानमा लागेका छौँ । धेरै मृत्यु हुने गरेको पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउन यो अभियान सुरु गरेका हौँ ।”

एचपिभी खोप सेवालाई आगामी वर्षदेखि नियमित अभियानका रूपमा सञ्चालन गरिने मन्त्री पौडेलले जानकारी गराउनुभयो । अभियानअन्तर्गत विद्यालय जाने कक्षा ६ का छात्राहरू र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई हरेक वर्ष एचपिभी खोप दिइने मन्त्रालयले जनाएको छ ।

एचपिभी खोपका लागि लक्षित गरेका अधिकांश किशोरीहरू विद्यालयमा अध्ययन गर्ने भएकाले खोप सेवा पनि मुख्यतः विद्यालय केन्द्रित हुनेछ । विद्यालयहरूमा खोप सेवा सञ्चालनपछि स्वास्थ्य संस्था र बाह्य खोप केन्द्रहरू तथा वडा कार्यालयबाट समेत यो खोप प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यस वर्ष सञ्चालन हुने एचपिभी खोप अभियानमा १८ हजार नौ सय विद्यालय र आठ हजार दुई खोप केन्द्रहरूबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार खोप दिने स्वास्थ्यकर्मीहरू करिब २७ हजार र स्वयम्सेवक ५४ हजारभन्दा बढी परिचालन हुनेछन् ।

खोप अभियानका लागि १७ लाख ७० हजार २० मात्रा एचपिभी खोप प्राप्त भएको जानकारी दिँदै उहाँले यो खोप प्रदेश तहमा पुर्याइसकिएको र अभियान सञ्चालन अगाडि सम्बन्धित स्वास्थ्य संस्थामा पुग्नेगरी खोप वितरण गरिने बताउनुभयो ।

अभियानका लागि गाभीबाट सहयोग र नेपाल सरकारको सहलगानी रहेको छ । हरेक वर्ष नियमित खोप कार्यक्रममा एचपिभी खोप समावेश गरी दिगो रूपमा खोप दिने लक्ष्य नेपाल सरकारले लिएको छ ।

मन्त्रालयले एचपिभी खोप सुरक्षित र प्रभावकारी रहेको र नेपालमा खरिद–आपूर्ति गरिने एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनले गुणस्तरयुक्त प्रमाणित खोप भएको जनाएको छ । नेपालमा खोप सञ्चालन गर्नका लागि औषधि व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको छ ।

सम्बन्धित समाचार