हेलिकप्टर र विमान ठोक्किंदा कम्तीमा १८ जनाको शव फेला

अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको छ । विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए ।

अहिलेसम्म १८ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले प्रहरी अधिकारीहरूले उद्धृत गरी जानकारी गराएका छन् ।

बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान वासिङ्टनबाट क्यानकासतर्फ जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नदीमा खोजी तथा उद्धार कार्य जारी छ । स्थानीय समयअनुसार राति ९ बजे रेगन वासिङ्टन नेसनल एयरपोर्ट नजिकै दुर्घटना भएको घटनाको अनुसन्धान सुरु गरिएको छ । विमान रेगन राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो ।

दुर्घटनापछि ठूलो संख्यामा आकस्मिक बलका सदस्यहरू विमानस्थलमा पुगेका छन्। घटनास्थलमा १० भन्दा बढी एम्बुलेन्स र ट्रकपनि रहेका छन् ।

रेगन एयरपोर्टले सामाजिक सञ्जाल एक्समा एक सूचना जारी गर्दै लेखेको छ,,“तत्कालका लागि सबै उडान स्थगित गरिएको छ ।”

एक अमेरिकी सैनिक अधिकारीले अमेरिकी समाचार च्यानल सीबीएसलाई बताएअनुसार दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर थियो । हेलिकप्टरमा अमेरिकी सेनाका तीन सैनिक सवार थिए ।

हेलिकप्टरमा कुनै वरिष्ठ अधिकारी थिएनन्, तर त्यसमा सवार सैनिकको अवस्था पनि स्पष्ट छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै भन्नुभएको छ, ’रेगन नेसनल एयरपोर्टमा भएको दुर्घटनाबारे मैले पूर्ण जानकारी पाएको छु । अवस्थाको अनुगमन भइरहेको छ ।”

उहाँले यस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै अगाडि भन्नुभयो, “मृतकका आत्मालाई भगवानले शान्ति प्रदान गरुन् ।”

सम्बन्धित समाचार