त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खला : नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित

काठमाडौँमा जारी त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको छ ।

जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४० रन बनायो । उसका लागि कप्तान बाबेट डी लिडेले ३८ बल खेल्ने क्रममा चार चौका र एक छक्काको सहयोगमा ४१ रनको योगदान दिइन् । त्यसैगरी हिटर सिर्गसले २६, रोबिन रिके र फेबी मोलकिनबोरले समान २१-२१ रन जोडे ।

बलिङतर्फ नेपालकी सीता रानामगरले सर्वाधिक पाँच विकेट लिइन् । त्यस्तै मनिषा उपाध्यायले दुई तथा कविता जोशी र इन्दु वर्माले समान एक-एक विकेट लिए । एक सय ४१ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय २५ रनमात्र बनाउन सक्यो । नेपालको लागि कप्तान इन्दु बर्माले ३० रन बनाइन् भने सम्झना खड्काले २३ रन जोडिन् । यस्तै पुजा महतो १८ रन बनाई आउट भइन् भने कविता जोशीले १४ रन जोड्दा सित राना मगर १० रनमा अविजित रहिन्।

नेदरल्याण्ड्सको लागि आइरिस ज्वीलिङ, क्यारोलिन डे लेन्ज र हिथर सेगर्सले सुमान दुई-दुई विकेट लिए भने इभा लिन्च र इसाबेला भान डेर वनिङको भागमा समान एक-एक विकेट रह्यो ।

नेपालले यसअघि खेलेको दुई खेलमा दुवैमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । त्यसैगरी आफ्नो दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो । पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स आफ्नो दोस्रो खेलमा थाइल्यान्डसँग आठ विकेटको पराजित भएको थियो ।

सम्बन्धित समाचार