कृष्णप्रसाद न्यौपाने
काठमाडौं, १९ फागुन ।
लागे सात समुद्र पार घरका छोरा पढेका जति
जोडे रे धनमाल रत्न गहना इच्छा गरेको जति ।
मेरासाथ छ माहिलो अबुझ यो जाँदैन काहीँ पर
बा भन्छन् पटमूर्ख यो कपुत हो जन्मेछ नालायक ।।
बाआमासित बस्छु जान्नँ म कतै अड्डी सधैँ कस्दछ
आमाका नजिकै बसेर दिनहुँ गोडा घुँडा मोल्दछ ।
मेरा बासरि छैन यो भुवनमा भन्ने नमानी धक
खाला खै कसरी भयो अबुझ यो जन्मेछ नालायक ।।
काटी घाँस सदैव बोक्छ शिरमा पारेर भारी बिटा
गाईगोठ पसेर गोबर सधैँ सोरी लुगामा छिटा ।
मैलोको परवाह छैन उसमा फोहोरको धारक
बा भन्छन् गतिलो भएन कहिले जन्मेछ नालायक ।।
खेती गर्छु रमाउँदै अब यहीँ खाएर आँटो पिठो
जे पायो परिकार तुष्टि त्यसमा सिन्की र ढिँडो मिठो ।
आमाबा घरका जुहार कसरी छोडूँ बनी पातक
भन्दै गर्छ रटान बासँग सधैँ छोरो छ नालायक ।।
जो जाला परदेश ऊ नजरमा सच्चा महानायक
आयो दाम विदेशको लबजले भन्छन् भयो मालिक ।
बस्छन् जो घरमा गरी इलम ती छोरा निकम्मातक
बाआमा पनि भन्दछन् कपुत यो जन्मेछ नालायक ।।