नवकान्तिपुर संवाददाता
काठमाडौं, २० फागुन ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको छ ।
त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो ।
“विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठनको नाम निर्वाचनका लागि दर्ता गराउनुभएको छ”, उहाँले भन्नुभयो, “विगतभन्दा धेरै क्याम्पसमा यसपटक निर्वाचन हुन्छ ।”
निर्वाचन कार्यतालिकाअनुसार भोलि फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता गरिने छ । त्रिविले मतदान आगामी चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले निर्वाचनका लागि सबै क्याम्पसमा आफ्नो सङ्गठनको मनोनयन गरिएको जानकारी दिनुभयो । यस्तै, नेपाल विद्यार्थी सङ्घका प्रवक्ता सुरज सेजुवालले पनि सबै क्याम्पसमा सङ्गठनको नाम दर्ता गराइएको बताउनुभयो ।
अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव रोशन मगरले देशभर नै निर्वाचन हुने क्याम्पसमा सङ्गठन दर्ता गरिएको जानकारी दिनुयभो । यसअघि त्रिविले ‘स्ववियु निर्वाचसम्बन्धी निर्देशिका’ आचारसंहिता जारी गरिसकेको छ । चैत ५ गते एकै दिन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचनमा हुने छ । निर्वाचनमा २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।