

‘एकजना राजा रहने कुराले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन तर सामन्तवाद, दलाल नोकरसायी पूूँजिवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन’ भनेर धेरै अगाडि मदन भण्डारीले बोलेको कुरा आजको नेपालको राजनीतिक अवस्थासँग ठ्याक्कै मेल खान्छ । दूरदृष्टि भएका नेताले धेरै पछिसम्मको मुलुकको स्थिति दृष्टिगोचर गर्न सक्छन् भन्ने कुराको उनले प्रमाणित गरिदिए । अहिले नेपालमा कार्यकारी राजा छैनन् तर नव–महाराजाहरूको जगजगी छ । उनीहरूको बहुलठ्ठीपनले देश आकान्त बनेको छ । अहिलेको नेपालको राजनीतिक व्यवस्थालाई लोकतन्त्र वा गणतन्त्र जे भने पनि स्व. भण्डारीले भनेझैं यस व्यवस्थाले जनताको अवस्थामा कुनै परिवर्तन दिनसकेको छैन । तर केही थान नेताहरू भने मालामाल बनेका छन् ।
हिजोका दिनमा राजाविरोधी आन्दोलनमा आफ्नो जीउ, ज्यान र सम्पत्तिसमेत दाउमा लगाएर होमिएकाहरू नै आजभोलि ‘राजा आऊ, देश बचाऊ’ भन्ने व्यानर बोकेर हजारौंको सङ्ख्यामा सडकमा उत्रिएका छन् । यसरी राजालाई पुनःस्थापना गर्न सकिन्छ–सकिन्न वा यस प्रकारको गतिविधि संविधानसंम्मत हुन्छ वा हुन्न; उनीहरूलाई थाहा छैन तर उनीहरूले बुुझेको कुरा के हुनसक्छ भने ‘सार्वभौम जनतासँग राजालाई फाल्ने सामथ्र्य रहन्छ भने पुनःस्थापना गर्ने शक्ति पनि निहित हुन्छ ।’
यदि गणतन्त्रका संवाहक नेताहरूले यो ३४/३५ वर्षको अवधिमा देश र जनताका पक्षमा राम्रो काम गरिदिएको भए, विकास र समृद्धिको बाधक राजसंस्था थियो भनेर कामले नै प्रमाणित गरिदिएको भए, काख र पाखाको विभेद नगरेको भए, नेतृत्वले सादगी जीवनको उदाहरण प्रस्तुत गर्न सकेको भए, नेताहरू भ्रष्टाचारको दलदलबाट माथि उठ्न सकेको भए र कानुनका नजरमा सबै बराबर हुने कुराको प्रत्याभूति जनतामा दिलाउन सकेको भए आजसम्ममा राजा र राजसंस्था इतिहासको गर्तमा विलिन भइसकेका हुन्थे । राजाभन्दा दलका नेता प्यारा भइसक्थे । जनताले जनताबाटै चुनिएका नेतालाई अभिभावकको रूपमा स्वीकार गर्थे । र, यति लामो समयपछि जनताले पुनः पूर्वराजालाई सम्झने अवस्था आउने थिएन । पूर्वराजालाई सम्झने अवस्था आउनुमा ओली, देउवा र दाहालहरूकै अकर्मण्यताको बाई–प्रोडक्ट हो । जनताले पूर्वराजालाई सम्झने भूमिका उनीहरूले नै बनाइदिएका हुन् ।
जनताले राजालाई किन सम्झे ?
लोकतान्त्रिक गणतन्त्र संसारकै उन्नत व्यवस्था मानिन्छ तर व्यवस्था जति उत्कृष्ठ भए पनि नेतृत्व गलत भयो भने मुलुकको अवस्था नेपालकै जस्तो हुनेरहेछ । नेपालका नेता यति निकम्मा देखिए कि व्यवस्था परिवर्तन भएको लामो समयसम्ममा पनि देशबासीले गर्व गर्ने खालको एउटै पनि काम गरेर देखाउन सकेनन् । विशेष गरी पटक पटक प्रधानमन्त्री बनेका ओली, देउवा र दाहालले सामान्यज्ञान पढ्नेलाई खुराक दिनबाहेक थप केही गर्न सकेनन् । सुशासनका कुरा हराए बरू देशमा भ्रष्टाचारले संस्थागत रूप लियो । ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्नेहरूको पालामा नै सर्वाधिक भ्रष्टाचार भएको कुरा मिडियामा आयो । यिनीहरूको आफू मोटाउने तर देशलाई कङ्गाल बनाउने चरित्रबाट वाक्क भएर पनि जनताले राजालाई सम्झेका हुनसक्छन् ।
मुलुक काण्डमय बन्यो । यसबीच लाउडा काण्ड, यती–ओम्नी काण्ड, बूढीगण्डकी काण्ड, वाइडबडी विमान खरिद काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्ड, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास जग्गा काण्ड, ३३ केजी सुन काण्ड, सहकारी काण्ड, टेरामक्सको अनियमितता काण्ड, क्यान्टोनमेन्ट धोटाला काण्ड, महाकाली सन्धि काण्ड, स्काउटको जग्गा भाडा काण्ड, गिरिबन्धु टी स्टेट काण्ड, भ्यु टावर काण्ड, स्विस बैंक काण्ड, कम्बोडियामा ३२ अर्ब लगानी काण्ड, जलहरी काण्ड, ७० करोड काण्ड, पोखरा–भैरहवा विमानस्थल निर्माणमा घोटला काण्ड, बतास काण्ड, शेरा दरबार काण्ड, बाल मन्दिर काण्डलगायतका अरू पनि थुप्रै काण्डहरू घटित भए ।
यी अधिकांश काण्डहरूमा कुनै न कुनै रूपमा वर्तमान तथा पूर्व प्रधानमन्त्रीहरू जोडिएका समाचारहरू सम्प्रेषित भए । यिनै विषयहरू सामाजिक सञ्जालमा छरपष्ट देखिए । तर नेतृत्वले कुनै काण्डमाथि निष्पक्ष छानविन गराएन । बजारमा चलेका हल्लाहरू आग्रह वा पूर्वाग्रहबाट अभिप्रेरित मिथ्या हुन् भनेर न त प्रमाणित गराइयो न त दोषी मानेर कसैलाई दण्डित नै गरियो । बरू कतै नबोलेर र कतै सतही अपव्याख्या गरेर विषयको गम्भीरतालाई हावामा उडाउने काम भयो । यसै कारण पनि नेपाल गौरवमय ग्रे लिष्ट (फाइनान्सिल एक्शन टास्कफोर्स)मा पर्न सफल भयो !
उपरोक्त काण्डहरूसँग प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएकाहरू केही व्यक्तिहरू अहिले सरकारमा छन् र सुशासनलाई चुनौती दिंदै झण्डावाला गाडीमा सवार भइरहेका छन् । उनीहरू कानुनको पहुँचबाट बाहिर छन् तर सरकारबाट बाहिर रहेका रवि लामिछानेलाई मात्र माथि उल्लेखित सबै काण्डहरूको नाइके उनी एक्लै थिए भनेजस्तो गरी कार्वाहीको डण्डा चलाइयो; उत्साह बोकेर राजनीतिमा होमिएको एउटा युवालाई हतोत्साहित गर्ने काम भयो । कम्बोडिया काण्डको भण्डाफोर गर्ने दुर्गा प्रसाईलाई दण्डित गरियो । जनताका नजरमा राम्रो छाप छोड्न सफल बालेन शाह, हर्क साङपाङ, कुलमान घिसिङ आदिलाई आँखामा परेको कसिँगरजस्तै व्यवहार गरियो । नेताहरूको यस्तो विभेदकारी रवैया देखेर पनि जनताले राजा सम्झेका हुनसक्छन् ।
कर्मचारी वर्गमा ढिलासुस्ती र घुसखोरी दुबोसरि मौलायो । मुुहान नै धमिलो भएपछि शाखाहरू सफा हुने कुरै भएन । नेतृत्वमा कार्वाही गर्न सक्ने नैतिक बल पनि रहेन । इमानदार कर्मचारी दण्डित र बेइमानहरू पुरस्कृत भए । राजनीतिक नियुक्ति आर्थिक लेनदेनका आधारमा हुनथाल्यो । नीति निर्माण गर्दा देशको स्वार्थलाईभन्दा व्यापारी घरानाको स्वार्थलाई विशेष ध्यान दिइयो । यही अवस्थाले निरन्तरता पाइरह्यो भने देश झन् उठ्नै नसक्ने गरी थला पर्न सक्छ भनेर पनि जनताले राजालाई सम्झेका हुनसक्छन् ।
एउटा सामान्य कार्यकर्ताभन्दा माथि पार्टी र पार्टीभन्दा माथि देश हुन्छ भन्ने कुरालाई स्वीकार गरिएन । पार्टी र नेतृत्वको स्वार्थका अगाडि राष्ट्रिय स्वार्थलाई गौण बनाइयो । छिमेकी देशले समृद्धिको काँचुली फेरिसक्ता पनि मुलुक नेताको स्वार्थले जर्जर बन्यो । छिमेकीले गन्न छोडे । हिजो राजा ती देशहरूको भ्रमणमा जाँदा उनीहरूले राजालाई गर्ने सम्मान र अहिलेका प्रधानमन्त्रीहरू भ्रमणमा जाँदा उनीहरूले गर्ने व्यवहारको अन्तर मिडियामा देखेर नेपाली जनताको मन कुँडियो । र, एउटा गौरव गर्न लायक अभिभावकको अभाव खड्किएपछि जनताले राजालाई सम्झेका हुनसक्छन् ।
देउवा, ओली र दाहाल आलोपालो पटक पटक प्रधानमन्त्री भए । जति पटक प्रधानमन्त्री भए पनि उनीहरूले उल्लेखनीय, स्मरणयोग्य र इतिहासले सम्झनै पर्ने एउटा काम पनि गर्न सकेनन् । सत्ताबाहिर रहँदा आउने चेतना सत्तामा पुगेपछि हराएर गयो । गरेका केही हुँदैनन् तर सत्तामा पुग्नेवित्तिकै उनीहरूका आँखाले सबैतिर विकास र समृद्धिको हरियाली देख्न थाल्छ । अनि, उनीहरू आफूबाहेक सबैलाई मूर्ख र अल्पबुद्धिको देख्न थाल्छन् । त्यतिमात्र होइन, उनीहरू आफू आजीवन पार्टी अध्यक्ष भएर रहन र मरेपछि पनि फोटोलाई नै अध्यक्ष मानेर पार्टी चलोस् भन्ने झल्को दिन्छन्् । कोही नयाँ राजनीतिमा आयो भने आफ्नो भाग खोस्न आएकी सौताजस्तो व्यवहार देखाउँछन् तर मञ्च पाउने वित्तिकै उनीहरू नै अरूलाई नैतिकताको पाठ घोकाउन पछि पर्दैनन् । यसरी केही थान नेताहरूले देशलाई बन्दी बनाएको देखेर पनि त्यसबाट निकास दिनका लागि जनताले राजालाई सम्झेका हुनसक्छन् ।
‘गुमाएपछि मात्र व्यक्ति, वस्तु, समय र जवानीको महत्व थाहा हुन्छ’ भन्छन् । राजालाई गुमाइसकेपछि र देश विकास र समृद्धिको नारा बोकेर राजनीतिमा आएका नेताहरूले गरेको कर्म देखिसकेपछि जनताले राजा हुँदाको महत्व थाहा पाए । कतिले त नेताको रवैया देखेर पनि उनीहरूसँग बदला लिने उद्देश्यले पनि राजालाई सम्झे भने कतिले ३० वर्षको राजाकालमा गरेका काम र ३५ वर्षमा नेताहरूले देखाएको नौटङ्कीको विवेचना गरेर पनि राजालाई सम्झेका हुनसक्छन् । जसरी सम्झे पनि विशेष गरी ओली, देउवा र दाहालले आफ्नो कर्तव्य र भूमिका राम्रोसँग निर्वाह गर्न नसक्ता जनताले राजालाई सम्झेका हुनसक्छन् ।
क्रमशः
