नवकान्तिपुर संवाददाता
कोपेनहेगन, २९ फागुन ।
युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर भएर २५ वर्षयताकै उच्च भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार जनाएको छ । सङ्गठनले सङ्क्रमण नियन्त्रणका लागि खोप अभियानलाई प्रभावकारी बनाइनुपर्नेमा पनि जोड दिएको छ ।
गत वर्ष मध्य एसियासहित ५३ देश रहेको डब्लुएचओको युरोपेली क्षेत्रमा दादुराका एक लाख २७ हजार ३५० घटना दर्ता भएका थिए भने ३८ जनाको मृत्यु भएको थियो ।
रोमानिया र कजाखस्तानमा क्रमशः ३० हजार ६९२ र २८ हजार १४७ जनामा सङ्क्रमण देखिएको थियो । डब्लूएचओका अनुसार युरोपका आधाभन्दा बढी बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था छ भने ४० प्रतिशत घटनामा पाँच वर्षमुनिका बालबालिका रहेका छन् ।
डब्लुएचओका युरोप निर्देशक हान्स क्लुजले भन्नुभयो, “दादुरा फेरि आएको छ र खोपको उच्च दर बिना यसको प्रकोपबाट सुरक्षा हुँदैन । यो एक जागृत आह्वान हो ।” उहाँले खोप नलगाएका र नपाएका समुदायको सुरक्षाका लागि खोप अभियानलाई तीव्रता दिन आग्रह गर्नुभयो ।
सन् २०२३ मा यस क्षेत्रका पाँच लाख बालबालिकाले खोपको पहिलो मात्रा पाएका थिएनन् । क्लुजले भन्नुभयो, “खोपको उच्च दर बिना स्वास्थ्य सुरक्षा हुँदैन।” दादुरा अत्यधिक सङ्क्रामक हुन्छ, यो श्वासप्रश्वासमार्फत फैलिन्छ र सङ्क्रमित व्यक्तिले कुनै क्षेत्र छोडेको दुई घण्टासम्म हावामा रहन्छ।
ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या दादुराको मुख्य लक्षण हो र यसले निमोनिया, मस्तिष्कको सूजन र मृत्युजस्ता गम्भीर जटिलताहरू पनि निम्त्याउन सक्छ।
सन् २०२४ मा विश्वमा दादुराका एक तिहाइ बिरामी युरोपमा देखिएका थिए । सन् १९९७ मा दुई लाख १६ हजार सङ्क्रमित भएपछि युरोपमा दादुराको प्रकोप ह्वात्तै घटेको थियो र सन् २०१६ मा यो सङ्ख्या चार हजार ४४० पुगेको थियो ।
सन् २०१८ र २०१९ मा यो रोग फेरि बढेको र कोभिड–१९ को महामारीका बेला खोप अभियान रोकिएपछि सन् २०२३ देखि सङ्क्रमितको दरमा उल्लेख्य वृद्धि भएको छ ।