बेपत्ता चिनियाँ प्राध्यापक जापान फर्किए : विश्वविद्यालय

एक वर्षअघि घर फर्कने क्रममा बेपत्ता भएका जापानको एक विश्वविद्यालयका चिनियाँ प्राज्ञ जापान फर्किनुभएको छ ।

पश्चिमी जापानको कोबे गाकुइन विश्वविद्यालयमा चिनियाँ साहित्य र भाषाविज्ञानका प्राध्यापक हु सियुन सन् २०२३ को ग्रीष्मऋतुमा आफ्नो मातृभूमिको भ्रमण गर्ने क्रममा सम्पर्कबिहिन हुनुभएको थियो ।

विद्यालयका प्रवक्ता योइची ताकामुराले एएफपीसँग भन्नुभयो, “जापानमा रहेका हुको परिवारले सन् २०२३ सेप्टेम्बरमा विश्वविद्यालयलाई पहिलो पटक सूचित गर्दै उहाँ अगस्टमा चीन गएदेखि सम्पर्कविहीन भएको जानकारी गराएको थियो ।

“त्यसपछि उहाँले आफू जनवरी २४ मा जापान फर्केको बताउनुभयो,” ताकामुराले भन्नुभयो । ताकामुराले भन्नुभयो, “विश्वविद्यालयले चीनमा रहँदा उहाँले के गरिरहनुभएको थियो भनी सोधपुछ गरेको तर उहाँले केही नबताएको जनाइएको छ ।

विश्वविद्यालयको वेबसाइटका अनुसार हुले सन् २०१५ देखि विश्वव्यापी सञ्चार सङ्कायमा चिनियाँ भाषा, संस्कृति र समाजबारे कक्षा लिँदै आउनुभएको थियो । “आगामी शैक्षिक सत्रका लागि हामी उहाँको भूमिकाको लागि समन्वय गरिरहेका छौँ,” ताकामुराले भन्नुभयो ।

हालैका बर्षहरूमा बेइजिङले विदेशमा रहेका आफ्ना नागरिकहरूमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । ६४ वर्षीय हु हालैका वर्षहरूमा जापानबाट चीन जाने क्रममा हराएका चिनियाँ शिक्षाविद्हरूमध्ये एक हनुहुन्छ ।

जापान सरकारले सन् २०२४ को अप्रिलमा टोकियोमा अन्तर्राष्ट्रिय कानून र राजनीति पढाउने चिनियाँ प्राध्यापक फान युन्ताओ अघिल्लो वर्ष घर आएदेखि नै बेपत्ता भएको भन्ने समाचारको अनुगमन गरिरहेको बताएको थियो ।

सन् २०१९ मा जापानको होक्काइडो युनिभर्सिटी अफ एजुकेसनका युआन केकिन पारिवारिक अन्त्येष्टिका लागि चीन गएका बेला बेपत्ता हुनुभएको थियो ।

सम्बन्धित समाचार