अनाम शर्मा ।
काठमाडौं, ४ चैत ।
फागुन २५ गते पोखराबाट काठमाडौं फर्कनेक्रममा हजारौं नेपाली जनताले गरेको पूर्वराजाको स्वागतको पराकम्पनले गणतन्त्रको जग नराम्रोसँग हल्लिएको छ । स्वागतका नाममा अकल्पनीय संङ्ख्यामा नेपाली जनता सडकमा उत्रिएको देखेपछि आफूलाई गणतन्त्रवादी नेता भन्न रूचाउनेहरू आजभोलि बर्बराउन र लर्बराउन थालेका छन् । भ्रष्टाचारको जगमा उभिएको वर्तमान व्यवस्था पूरै डगमाएको छ । नेतृत्वमा हुँदा गर्नुपर्ने नगरेका र नगर्नुपर्ने मात्र गरेकाले उनीहरू बुढेसकालमा जेल जानुपर्ने हो कि भन्ने त्रासले त्राहिमाम् बनेका हुनसक्छन् ।
नेपाली जनतालाई एक सामान्य नागरिकको जीवन बिताइरहेका पूूर्वराजालाई स्मरण गराउने काम नेताहरूले नै गरेका हुन् । गणतन्त्रपश्चात नेताहरूले राम्रो काम गरेका भए, राजतन्त्र फालेर गणतन्त्र ल्याउनुको मीठो परिणाम् आम जनतालाई पस्कन सकेको भए, जनताले पनि व्यवस्था मात्र होइन, आफ्नो अवस्थामा पनि परिवर्तन भएको अनुभूति गर्न पाएको भए र जनताको छोरा/छोरी देशको कार्यकारी पदमा पुुग्दा आम जनताको दैनिकीमा सकारात्मक परिवर्तन भएको महसुस गरेको भए आजसम्ममा नेपाली जनताको मानसपटलबाट पूूर्वराजाको स्मृति हराइसक्थ्यो होला । तर जनताका छोरा/छोरी नै कार्यकारी पदमा पुग्दा राजाहरूभन्दा विलासी, भ्रष्ट र दिशाहीन भएपछि जनताले विकल्पमा पूूर्वराजाको स्मरण गरेका हुुन् । स्मरण रहोस्, व्यक्ति होस् या व्यवस्था विकल्परहित कोही वा केही हुँदैन ।
पूूर्वराजाको अभिव्यक्ति आएपछि र जनताको भव्य स्वागत देखेपछि नेताहरूबाट जेजस्तो टिप्पणीहरू आउँदैछन्, त्यो पञ्चायती शैली हो । पञ्चायत ढल्न लाग्दासम्म पञ्चहरू ‘पञ्चायत ढल्नै नसक्ने’ कुरा गर्थे । पञ्चायती व्यवस्थालाई ‘नेपालको हावापानी सुहाउँदो व्यवस्था’ भन्ने गर्थे । जनताले नचाहेपछि पञ्चायती व्यवस्था तासको घरझैं गर्ल्यामगुर्लुम भएर लड्यो । गणतन्त्रवादी नेताले देखाएको अस्वाभाविक अभिमानको कारण अब पञ्चायतको नियति भोग्ने पालो गणतन्त्रको देखिन्छ । नेताहरूको स्वभाव र चरित्रमा गणतान्त्रिक परिवर्तन आएन भने छिट्टै नै ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नेपालको इतिहासमा सीमित हुनसक्छ ।
नागरिकका नजरमा सिद्धान्त वा वाद भन्ने कुरा गौण विषय हो । नागरिकलाई देशमा सुशासन, समृद्धि र शान्ति चाहिएको हुन्छ । भोग्दै आएका कुशासन र कुव्यवस्थाबाट मुक्ति चाहिएको हुन्छ । जुन व्यवस्थाले यी कुराहरू दिन सक्छ, जनताका नजरमा त्यही व्यवस्था ठीक हुन्छ । यी आधारभूत कुराहरू दिन सक्तैन भने नागरिकका लागि त्यो सिद्धान्त वा वाद जतिसुकै उत्कृष्ट भनिए पनि त्यसको कुनै मूल्य रहँदैन । तिर्खाएको बटुवालाई चित्रमा देखाएको महासागरको कुनै तुक रहँदैन, उसका लागि एक घुड्की पानी पाउनु नै ठूलो कुरा हुन्छ । फोटो देखाउनेभन्दा पानी दिने व्यक्ति महान् हुन्छ ।
अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, रुस, चीन, भारत, सिङ्गापुर, दुबईलगायतका देशहरूमा एउटै शासन व्यवस्था छैन तर त्यहाँ विकास र समृद्धिले एउटा उचाइ छोएको छ । कुनै सिद्धान्त र वादले भ्रष्टाचार गर भन्दैन तर नेपालमा जुनसुकै सिद्धान्त बोकेकाहरू सत्तामा पुगेपनि भ्रष्टाचारलाई पहिलो प्राथमिकतामा राखे । नयाँलाई पिँध नभएका भनेर होच्याए तर पिँध भएकाहरूले भ्रष्टाचारबाहेक केही गरेनन् । उनीहरूले मुलुकमा सुशासनको प्रत्यभूति दिलाएको भए आज आएर कसैले पनि पूर्वराजालाई स्मरण गर्ने थिएन ।
मुलुकले लोकतान्त्रिक शासन व्यवस्था अङ्गिकार गरेपछि आलोपालो गरी पटक पटक देउवा, ओली र दाहालहरू प्रधानमन्त्री भए । उनीहरूले प्रधानमन्त्री हुनुबाहेक सुशासनका लागि केही गरेनन् । चित्र राम्रो भएर के गर्नु, नेतृत्वको चरित्र खराब भएपछि जतिसुकै राम्रो शासन व्यवस्था भए पनि केही नहुने रहेछ । आफैंले मत दिएर सत्तामा पुु-याएका नेताहरूलाई बढारेर डस्टबिनमा हाल्नुपर्ने स्थिति आएपछि जनतामा बरू राजा नै ठीक रहेछन् भन्ने अवस्था आएको हो । पूर्वराजा ज्ञानेन्द्रले हिजो महान् काम गरेका थिए भनेर होइन, नेताहरू भ्रष्टाचारमा लिप्त भएपछि, आफ्नो राजनैतिक भूमिका बिर्सिएपछि, आफूलाई देशको कानुनभन्दा माथि ठान्न थालेपछि, नातावाद र कृपावादमा चुर्लुम्म डुबेपछि र समृद्धिका नाममा लुटतन्त्र मच्चाएपछि जनताले विकल्प सम्झेका हुनसक्छन् ।
‘पूर्वराजाको बढ्दो सक्रियता’का नाममा नेताहरूबाट आएको गालीको कुनै तुक छैन । जनताले त राजालाई निर्मल निवासमा खुम्च्याएर जनताका छोरा/छोरीलाई देशको सर्वोच्च स्थानमा पुर्याएकै हो । अवसर र अधिकार पाएर पनि देश र जनताका पक्षमा केही गर्न नसक्नेहरूसँग गाली गर्ने नैतिक अधिकार पनि नहुनुपर्ने हो । यो त आफ्नो अकर्मण्यता र असफलतालाई लुकाउने वा फेस सेभिङ गर्ने कमजोर प्रयत्न मात्र हो ।
हिजो जनताको छोरा/छोरी देशको कार्यकारी पदमा पुगे भने देश चाँडै सिङ्गापुुर हुन्छ भनेर गरेको भाषणलाई जनताले पत्याइदिएकै हो । राजाहरूले स्वीट्जरल्याण्डमा लुकाएको पैसा ल्याउने हो भने प्रत्येक नागरिकको नाममा यति पैसा पर्छ भन्दा पनि होला भनेर पत्याइदिएकै थियो । राजदरबारमा हुने खर्च रोक्ने हो भने नेपाली जनताको मुहार फेरिन्छ भन्दा पनि विश्वास गरेकै थियो । त्यसैले देशको मुहार फेर्न भनेर जनताले जनताका छोरा/छोरीलाई राजाको ठाउँमा पुर्याएकै हो ।
तर नेतृत्व तहमा पुगेका जनताका छोरा/छारीहरूले राजाको जस्तो श्रीपेज नलगाए पनि महाराजाको जस्तो अहङ्कार पालेकोले यो अवस्था आएको हो । नेताहरूले आफ्नो भूमिका र हैसियत बिर्सेर अराजक बनेकोले यो अवस्था आएको हो । जनताको आशा र भरोसामा बज्रपात भएकै कारण आजको अवस्था सिर्जना भएको हो । त्यसैले पनि आज पूर्वराजाका पक्षमा लागेका नारा र जनताको सहभागिता नेताहरूकै अकर्मण्यताको परिणाम् होभन्दा कसैले मन नदुखाए हुन्छ ।