दुई हत्याका घटनामा तीन पक्राउ

मध्यपुरथिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङस्थलमा यही चैत १० गते एक जनाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोटाङ कोपिलासगढी गाउँपालिका-२ घर भई हाल बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राईको हत्या अभियोगमा रोल्पा परिवर्तन गाउँपालिका-६ घरभई हाल बोडे बस्ने ५७ वर्षीय हिमाल बुढा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।



साँझ सुत्न जाने बेलामा बुढामगरको साथमा रहेको १०० राईले खोसर लिएको र फिर्ता माग्दा नदिएपछि आवेशमा आएर राईलाई भुईमा लडाएर ढुङ्गाले पटकपटक हानेर हत्या गरेको बयानको क्रममा खुलेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

घटनामा संलग्न रहेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी गत फागुन २७ गते साँझ मध्यपुरथिमि नगरपालिका-२ सानोथिमि मगरगाँउ जाने राधाकृष्ण सडकखण्डमा ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।

सडकमा घाइते अवस्थामा भेटिएका खड्काको कुटपिटबाट मृत्यु भएको जानकारी चिकित्सकले बताएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो ।

उनको हत्यामा संलग्न रहेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका–९ का ३९ वर्षीय यादव पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–३ चकमके घर भएको २४ वर्षीय अनिश तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुमतिमा म्याद थप गरी घटनाका थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार