नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ चैत ।


अमेरिकाको प्रसिद्ध ज्याक केन्ट कुक फाउण्डेसनले यस वर्ष घोषणा गरिएको छात्रवृत्तिमा नेपाली मूलका विद्यार्थी संयम खतिवडा पनि छानिएका छन् । अमेरिकाभरिबाट छानिएका ७० जना जेहेन्दार विद्यार्थीहरूमा टेक्सास राज्य (International Leadership Texas Aggieland High School)बाट पर्न उनी सफल भएका हुन् ।
असाधरण प्रतिभा भएका जेहेन्दार विद्यार्थीहरू आर्थिक कारणले उच्च शिक्षा अध्ययन गर्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विगत २५ वर्षदेखि जेहेन्दार विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्दै आएको फाउण्डेसनको वेभसाइटमा उल्लेख छ ।
यो छात्रवृत्ति पाउने विद्यार्थीलाई प्रतिवर्ष ५५ हजार डलरका दरले चार वर्षमा जम्मा २ लाख २० हजार डलर प्रदान गरिन्छ । छात्रवृत्तिको उद्देश्य ‘असाधरण शैक्षिक क्षमता भएका र नेतृत्व प्रदान गर्न सक्ने विद्यार्थीलाई शैक्षिक–ऋणबाट बच्न मद्दत गर्नु हो’ भनिएको छ ।
संयम खतिवडा अमेरिकाकै प्रतिष्ठित पेन्सिलभेनिया विश्वविद्यालयको व्हार्टन स्कुलमा पनि चार वर्षे स्नातक डिग्रीका लागि छानिइसकेका विद्यार्थी हुन् । कुक फाउण्डेसनको छात्रवृत्ति नपाएको भए पनि उनको स्नातक डिग्रीको अध्ययनलाई खास्सै अवरोध पुग्ने चाहिँ देखिँदैन ।
छोराले अमेरिकाका दुुई प्रतिष्ठित संस्थाबाट उच्च शिक्षा अध्ययनका लागि पाएको छात्रवृत्ति र सम्मानलाई लक्ष्य गर्दै संयमका पिता युवराज खतिवडा आफ्नो फेसबुक वालमा लेख्नुहुुन्छ– ‘हामी छोरा संयमको कडा परिश्रम, निरन्तरको लगनशीलता र दृढ सङ्कल्पका लागि गर्व गर्दछौं । उनको उस उपलब्धिले उनको असाधरण क्षमतालाई मात्र होइन, आफ्नो लक्ष्यमा पुग्न उनले गरेका अटुट प्रयासलाई पनि प्रतिबिम्बित गर्दछ ।’
Jack Kent Cooke Foundation Awards College Scholarships to 70 High School Seniors
