

जब केपी ओली पहिलोपल्ट प्रधानमन्त्री बने, देशभर नयाँ आशाको किरण फैलिएको थियो। उनले मुलुकमा स्थायित्व, राष्ट्रियता र समृद्धि ल्याउने जस्ता ठूला ठूला सपना बाँडे । उनका भाषणहरूमा आत्मविश्वासको गर्जन थियो, जनताको आँखामा उज्यालो भविष्यको चमक थियो। अब परिवर्तन निश्चित छ भन्ने भावनाले नागरिकहरू उत्साहित भएका थिए।
तर, समय बित्दै जाँदा र ओली पटक पटक प्रधानमन्त्री हुँदा पनि वास्तविकता र सपनाको बीचको गहिरो खाडल प्रष्ट हुन थाल्यो। सपना बाँड्नेहरू स्वयं नै सपनालाई झूटो बनाउँदै गए ।
केपी ओलीको नेतृत्वमा सरकारको प्राथमिकता सुरुदेखि नै ‘शब्दजाल’ मा सीमित देखियो। भाषणहरूमा राष्ट्रियताको घण्टी बजाइयो, विगतको सरकारहरूलाई दोष दिइयो र भोलिका सुनौलो दिनहरूको गफ हाँकियो तर मुलुकका जल्दाबल्दा मुद्दाहरूलाई सम्बोधन गर्ने ठोस कुरा भने आएन ।
प्रधानमन्त्री ओलीले आफूलाई ‘अर्कोभन्दा फरक’ देखाउन चाहेका देखिन्छन्। सुरुदेखि नै उनी उखान-टुक्का र रमाइला भाषणमार्फत जनता फकाउने शैलीमा प्रस्तुत भए । जब मुलुकमा आन्दोलन चर्कन थाल्यो, सडकमा चिच्याहट बढ्न थाल्यो, उनले समस्यालाई सम्बोधन गर्नुको सट्टा आलोचकहरूलाई व्यंग्य गर्न थाले।
प्रधानमन्त्रीका गतिविधि समस्या चिर्नुमा भन्दा समस्या बढाउनेतिर र असन्तोषहरूको सम्बोधन गर्नुको सट्टा टुक्काका मार्फत् भद्दा मजाक गर्नमा केन्द्रीत देखियो ।
जनताले उखान होइन, उज्यालो अनुभूति चाहेका थिए। शिक्षकले शिक्षा सुधारको आशा राखेका थिए। चिकित्सकले स्वास्थ्य क्षेत्रमा सुधार र सुरक्षाको माग गरेका थिए। निजामती कर्मचारीहरूले आफ्नो हक सुनिश्चित हुने अपेक्षा राखेका थिए। सामान्य नागरिकले न्याय, रोजगारी र जीवनस्तरमा सुधारको अपेक्षा गरेका थिए। तर सबैतिर निराशा मात्र देखियो ।
असन्तोषको परिणामस्वरुप जब विभिन्न पेशाकर्मीका आन्दोलनले शहरका चोक र सडक भरिए पनि सरकारले जिम्मेवार बोध गरेन । जनता र पेशाकर्मी सडकलाई नै न्यायालय बनाउन बाध्य भए/बनाइए । यसले सरकार र जनताबीचको फासलता घटाउनुको साटो बढाउँदै लग्यो ।
सरकारको विगत १० महिनाको समिक्षा गर्दा :
देश यतिबेला राजनीतिक नेतृत्वको ‘राम्रो भाषण’ र ‘कमजोर कार्यान्वयन’ बीच पिल्सिएको छ। नेताहरूले सपनाका महल निर्माण गरेका छन् तर ती महलहरू आधारविनाका भए। यसैले, आज सडकमा असन्तोषको लहर उर्लिएको छ।
देश आज फेरि त्यही दोबाटोमा उभिएको छ —
जहाँ एकतर्फ ‘भोलि राम्रो हुन्छ’ भन्ने कोरा आश्वासन छ र अर्कोतर्फ ‘आजको पीडा ।’
इतिहास भन्छ- जब नेतृत्व जनताको आवाज उपेक्षा गर्छ, तब जनता आफैं परिवर्तनको लहर सिर्जना गर्छन्। आज सडकमा उर्लेको आवाज परिवर्तनको सङ्केत हो।
नेतृत्वले बुझ्नुपर्ने कुरा के हो भने देशले अब उखान होइन, उत्तर खोजिरहेको छ। देशले अब टुक्का होइन, टिकाउ समाधान खोजिरहेको छ। देशले अब रमाइलो होइन, समृद्धिको वास्तविक बाटो खोजिरहेको छ।

