

नेपालको समकालीन राजनीतिमा सत्तारूढ गठबन्धनले स्थायित्वको अपेक्षा लिएर यात्रा थाले पनि त्यसभित्र गहिरो असन्तुष्टि पलाउँदै गएको संकेतहरू स्पष्ट रूपमा देखिन थालेका छन्। विशेष गरी नेपाली कांग्रेसका दुई प्रभावशाली नेताहरू डा. शेखर कोइराला र महामन्त्री गगन थापाबाट आएका ताजा अभिव्यक्तिहरूले सत्ता साझेदारीको दीर्घकालीन स्थायित्वमाथि प्रश्न उठाएका छन्।
पछिल्लो समय डा. शेखर कोइराला सार्वजनिक मञ्चहरूमा एकपछि अर्को सशक्त र तीव्र अभिव्यक्तिहरू दिइरहेका छन्। “अब गठबन्धन नै तोड्नुपर्छ” भन्ने अभिव्यक्ति केवल राजनीतिक गुनासो होइन, यो चेतावनी पनि हो- सत्ताभित्र असन्तुलन, बेवास्ता र अवहेलन कत्तिको बढिसकेको छ भन्ने। कांग्रेस नेतृत्वको अवमूल्यन, नीतिगत निर्णयहरूमा संवादको अभाव र कार्यान्वयन तहमा प्रभावहीन भूमिका यस्ता कुरा हुन् जसले कोइरालालाई यस्तो भनाइ दिन बाध्य बनाएको देखिन्छ।
सरकारले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रमबारे गगन थापाले व्यक्त गरेको आलोचना पनि सत्ता साझेदारीभित्रको गम्भीर असन्तुष्टि हो। उनले नीति कार्यक्रमले ‘व्यवहारभन्दा भाषणमै सीमित’ ढंगले मुद्दाहरू उठाएको, समग्र विषयवस्तु समेट्न नसकेको र कार्यान्वयनको स्पष्ट खाका नदेखिएको उल्लेख गरेका छन्। यो सरकारप्रति मात्र होइन, कांग्रेस नेतृत्वकै भूमिकामाथि पनि अप्रत्यक्ष टिप्पणी हो- यदि प्रमुख सत्ता साझेदार भएर पनि कांग्रेसले आफ्ना प्राथमिकता लागू गर्न सक्दैन भने त्यस गठबन्धनको औचित्य के रहन्छ?
सत्तारूढ गठबन्धन शुरुमा रणनीतिक सहकार्यका रूपमा देखिए पनि पछिल्ला घटनाक्रमहरूबाट बुझिन्छ- यो अब सहकार्यभन्दा पनि एक बाध्यात्मक सम्झौता बन्दै गएको छ। कांग्रेसभित्रकै नेताहरू सार्वजनिक रूपमा असन्तुष्टि प्रकट गर्दैगर्दा नेतृत्वले चुप्पी साध्नुले समस्या समाधानभन्दा पनि ‘अलमल्याउने नीति’ अपनाइरहेको देखिन्छ।
यदि यस्ता असन्तुष्टि अझ चर्किंदै गए, गठबन्धन केवल ‘संख्या सुरक्षित’ गर्ने भरपर्दो संयन्त्रमा सीमित भएमा, सत्ता समीकरणमा ठूलो परिवर्तन आउन सक्छ। डा. कोइरालाको तेवर र गगन थापाको आक्रोश सँगसँगै बढ्दै जाँदा कांग्रेसभित्रकै अर्को शक्ति केन्द्र उत्पन्न हुन सक्छ, जसले या त गठबन्धन तोड्ने पहल गर्न सक्छ या पार्टीभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बनाउन सक्छ।
यदि हालको असन्तुष्टि यही ढंगले गहिरिँदै गयो भने आगामी केही महिनाभित्रै नेपाली राजनीति पुनः एउटा ‘सत्ता समीकरण’को मोडमा पुग्न सक्छ। डा. शेखर कोइरालाजस्ता वरिष्ठ नेताहरूको गठबन्धन तोड्नुपर्ने धारणा र गगन थापाजस्ता युवा नेताहरूको निराशाजनक प्रतिक्रिया पार्टीभित्र रणनीतिक ध्रुवीकरणतर्फ इशारा गर्छ। यस्तो अवस्था लामो समयसम्म थामिन सकेन भने कांग्रेसभित्र वैकल्पिक नेतृत्वको माग चुलिन सक्छ, जसले नयाँ समीकरण सिर्जना गर्न थाल्नेछ।
त्यस्तै, माओवादी केन्द्र र अन्य गठबन्धन साझेदारहरूले पनि कांग्रेसको व्यवहारमा अस्थिरता देखेमा, वैकल्पिक गठबन्धन खोज्ने प्रयास हुन सक्नेछ। यसले या त सरकार पुनर्गठन गराउनेछ वा आगामी निर्वाचनतर्फ देशलाई धकेल्न सक्छ।
यस्तोमा, राजनीतिक परिदृष्य फेरिन सक्ने सम्भावना अत्यन्त प्रबल देखिन्छ- जहाँ आजका सहयोगीहरू भोलिका प्रतिस्पर्धी बन्न सक्छन् र आजका आलोचकहरू भोलिका रणनीतिक साझेदार।
सत्ता साझेदारीको मुल मन्त्र नै संवाद, समन्वय र साझा उद्देश्य हो। तर जब यी तत्वहरू कमजोर हुँदै जान्छन्, तब त्यस्तो गठबन्धन दीर्घकालीन हुँदैन। डा. शेखर कोइरालाको गहिरो असन्तुष्टि र गगन थापाको स्पष्ट आलोचनाले आजको गठबन्धनलाई पुनः मूल्यांकन गर्न बाध्य बनाउने सम्भावना प्रबल देखिन्छ। आगामी दिनहरूमा यस्ता अभिव्यक्तिहरू अझ तीव्र भए, सत्ता समीकरणमा ठूला उथलपुथल हुन सक्ने संकेतहरूले स्पष्ट आकार लिन सक्नेछन् l

