

यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको साइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका–२ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र साइकलमा सवार सिरहा नगरपालिका–२ का ४५ वर्षीय कुसे राय रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको थियो । तर, चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए ।
मृतकहरूको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
ढुङ्गा प्रहारबाट युवकको मृत्यु
यस्तै, झापाको कमल गाउँपालिकामा ढुङ्गा प्रहारबाट एक युवाको ज्यान गएको छ ।
यसरी ज्यान जानेमा कमल गाउँपालिका–४ का ३५ वर्षीय सूर्यविक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख राजन लिम्बूका अनुसार बिहीबार साँझ ५.३० बजे मृतक लिम्बू र सोही ठाउँका ३७ वर्षीय देवेन्द्र लावतीबीच एकापसमा विवाद भएको थियो ।
दुवैले मादकपदार्थ सेवन गरेका र झगडाका क्रममा देवेन्द्र लावतीको ढुङ्गा प्रहारबाट सूर्यविक्रम गम्भीर घाइते भएका थिए । घाइतेलाई दमकको लाइफलाइन अस्पताल ल्याई सामान्य उपचारपश्चात थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएकामा उपचारका क्रममा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
लावतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

