सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-२ लौनियास्थित सडकमा लौनियाबाट दमाबतीतर्फ जाँदै गरेको स.१ त ६७०० नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३८ वर्षीय देबेन्द्र प्रसाद साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै कास्की, पोखरा महानगरपालिका-१७ महतगौडास्थित सडकमा ग.११ प ४४४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-१७ बिरौटा बस्ने ३२ वर्षीया अस्मिता राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै महोत्तरी, मनरा शिसवा नगरपालिका-१ स्थित सडकमा कटैयाबाट मनरातर्फ जाँदै गरेको बीआर ३० एल ९६४३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ बस्ने ३५ वर्षीय धनेश ठाकुरको सोमबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ भने मोटरसाइकल चालकलाई थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार