नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असार ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । मोरङ, रंगेली नगरपालिका-८ दर्बेशा चोकस्थित सडकमा पि १-०२-००३ टिए २८५६ नम्बरको ट्याक्टरले को.३९ प ३९३२ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ बबिया टोल बस्ने ३२ वर्षीय केदार न्यौपानेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई थप उपचारको लागि नोबल अस्पताल विराटनगरमा रिफर गरिएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-१ सेतोपुलस्थित सडकमा सु.प.प्र.०१-०१२ प ७९५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक जोशीपुर गाँउपालिका-४ बस्ने २६ वर्षीय रूद्र चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै स्याङ्जा, चापाकोट नगरपालिका-८ धार्केघाटस्थित सडकमा हिलामर्याङबाट दामाचौरतर्फ आउँदै गरेको ग.१ त ६१६७ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा ट्याक्टर चालक काभ्रे घर भएका ३२ वर्षीय सागर लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता सिराहा, भगवनापुर गाउँपालिका-१ बलान पुलस्थित सडकमा ना.३४ प ४२४१ नम्बरको मोटरसाइकल र स.८ प ७०१८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा ना.३४ प ४२४१ नम्बरको मोटरसाइकलमा सवार सखुवानान्कारकट्टी गाउँपालिका-५ महेशबारी बस्ने ७८ वर्षीया कलवतीया देवी यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना.३४ प ४२४१ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले स.८ प ७०१८ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी सिराहा, लहान नगरपालिका-३ बिहारपुरस्थित सडकमा स.१ त ४०९९ नम्बरको ट्याक्टरले किचेर सोही ठाउँ बस्ने २३ वर्षीय संजय सदायकी छोरी ३ वर्षिया सुजीता सदायको मंगलबार बेलुकी मृत्यु भएको छ । ट्याक्टर ब्याक गर्ने क्रममा किचेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता दैलेख, भैरवी गाउँपालिका-६ तीजडाँडास्थित सडकमा कुर्माकोटदेखि भैरवीतर्फ आउँदै गरेको ना.प्र.०२-००१ त ०५९१ नम्बरको ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा चालक नारायण नगरपालिका-१ बस्ने २१ वर्षीय ईश्वर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार एक जनालाई उपचारको लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
