नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असार ।


देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाली, कैलारी गाउँपालिका-८ लोहरपुर बस्ने २३ वर्षीय लक्ष्मण बहादुर साउदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लक्ष्मण बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-५ श्रीनगरटोल बस्ने १९ वर्षीय अरूण परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अरूणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी उनलाई पक्राउ गरेको हो । यस्तै ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारा, फेटा गाउँपालिका-३ बस्ने २२ वर्षीय कृष्णा साह तुरहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कृष्ण साहले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
